images

राष्ट्रपति पौडेल स्वीट्जरल्यान्ड र जर्मनीको भ्रमणपछि आज स्वदेश फर्कँदै

काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्ड र जर्मनीको भ्रमण पूरा गरी आज स्वदेश फर्कँदै छन् । उनी जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै आज नेपाल फर्कने कार्यक्रम रहेको छ ।

राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले बिदाइ गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

यसअघि  राष्ट्रपति पौडेलले सोमबार जर्मनीका राष्ट्रपति फ्र्याङ्क वाल्टर स्टाइनमायरसँग वर्लिनमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गरेका थिए। सो अवसरमा दुई देश बिचको सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको जनाइएको छ । राष्ट्रपति पौडेललाई जर्मन सरकारले गार्ड अफ अनरको सम्मान पनि दिइएको थियो ।

पौडेलले स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रलाई गत जेठ ३१ गते मुख्य वक्ताका रूपमा सम्बोधन गरेका थिए ।