नागरिकता नबन्दा हरवाचरवा अवसरबाट वञ्चित; जनप्रतिनिधि र कर्मचारीलाई गुहार्दै जनता

रुपनी (सप्तरी), ५ असार: सप्तरीको रुपनी गाउँपालिका–१ रायपुरका ६२ वर्षीया चुनरदेवी सदा हालसम्म नागरिकताबाट वञ्चित हुनुहुन्छ ।

उहाँले नागरिकताका लागि स्थानीय जनप्रतिनिधि र कर्मचारीलाई गुहार्दै आउनुभएको छ । सदाका श्रीमान् रामप्रसादको १० वर्षअघि नै मृत्यु भइसकेको छ । नागरिकता नहुँदा उहाँ सामाजिक सुरक्षा भत्ताबाट पनि वञ्चित हुनुहुन्छ । “सरकारले एकल महिलालाई मासिक सामाजिक सुरक्षा भत्ता दिने गरेको छ”, चुनरदेवी भन्नुहुन्छ, “मसँग नागरिकता नहँुदा त्यो सुविधाबाट वञ्चित छ ।” नागरिकता बनाउन वडा कार्यालयबाट सिफारिस बनाए पनि जिल्ला प्रशासन कार्यालयले श्रीमान् र बुबा–आमाको नागरिकता मागेको उहाँ बताउनुहुन्छ । चुनरदेवी भन्नुहुन्छ, “श्रीमान्को नागरिकता त छ, तर मसँग बुबा–आमाको नागरिकता छैन ।” बुबा–आमाका बितेको करिब २० वर्ष भइसकेकाले नागरिकता आफुसँग उपलब्ध नभएको उहाँ बताउनुहुन्छ ।

नागरिकता नपाउँदा चुनरदेवीका २५ वर्षीय छोरा सञ्जीवलाई समस्या भएको छ । “नेपालमै जन्मिएँ, यही हुर्किएँ । तर हालसम्म नागरिकता पाउन सकेको छैन”, सञ्जीव भन्नुहुन्छ, “घरको मूल व्यक्ति आमासँग नै नागरिकता नहुँदा समस्या भएको हो ।” नागरिकता नबन्दा सञ्जीवले सात वर्षीय छोराको जन्मदर्ता प्रमाणपत्र बनाउन सक्नुभएको छैन । रुपनी–२ लौवापारका बिलट सदा पनि नागरिकताबाट वञ्चित हुनुुहुन्छ । सानै उमेरमा बुबा–आमा गुमाएकाले आफू नागरिकताबाट वञ्चित हुनुपरेको उहाँको भनाइ छ । नागरिकताका लागि सबै निकायलाई गुहारे पनि अझै पाउन नसकेको बिलट गुनासो गर्नुहुन्छ ।

“आर्थिक अवस्था असाध्यै कमजोर छ, परिवार पाल्न धौधौ छ”, बिलट भन्नुहुन्छ, “तर ऋण माग्न साहुमहाजनदेखि बैंकसम्म पुग्दा सबैले पहिला नागरिकता माग्छन्, नागरिकता नहुँदा ऋणसम्म पाउन सकिरहेको छैन ।” उहाँको पनि नागरिकताका लागि वडाबाट सिफारिस भइसकेको छ । तर जिल्ला प्रशासन कार्यालयले बुबा–आमाको नागरिकता माग्दा बिलटले दिन सक्नुभएको छैन । “दाजुको मृत्यु भइसकेकाले सनाखत गर्न भाउजु फुलबतीदेवी र भतिज रामलगन तयार हुनुहुन्छ, तर यसले पनि समस्या समाधान हुन सकेको छैन ।” उहाँको नागरिकताको पहल गरिदिन वडाध्यक्षसहितको टोली जिल्ला प्रशासन कार्यालय पुगेपनि नागरिकता बन्न सकेन ।

“नागरिकता नबन्दा १२ वर्षीय छोरा दिले र १० वर्षीय पवनको जन्मदर्ता बनाउन सकिएको छैन”, बिलटले भन्नुभयो । स्थानीय २८ वर्षीया सङ्गीतादेवी सदाले पनि अझै नागरिकता पाउन सकेकी छैनन् । सिरहा माइत भएकी उहाँको स्थानीय उमेश सदासँग विवाह भएको हो । “श्रीमान्को नागरिकता बनेको छ”, उहाँ भन्नुहुन्छ, “तर जिल्ला प्रशासन कार्यालयले श्रीमान्को नागरिकतासँगै बुबाको पनि माग्छ, बुबा गणेश सदाको नागरिकता आगलागीमा परेर जलेर नष्ट भयो, बुबाको मृत्यु भइसकेकाले झन समस्या भएको छ, बुबाको मृत्युदर्ता बनाउन फोटो चाहिने भयो, तर उहाँको फोटो छैन, कहाँबाट ल्याएर दिनु ? त्यही भएर मृत्युदर्ता बन्न सकेको छैन ।”

बुबाको नागरिकता वा मृत्युदर्ता नहुँदा मेरो नागरिकता प्राप्त गर्ने सपना अझै पूरा नभएको उहाँको गुनासो छ । नागरिकता नै नभएपछि गाउँमा गठन हुने महिला समूहमा आबद्ध हुन पाइरहेको छुइनँ भने न कुनै सेवा सुविधा नै पाउन सकेको छु, उहाँ भन्नुहुन्छ । जन्मेपछि कानुनी रूपमा राज्यको नागरिकको फेहरिस्तमा नाम जोडिनुपर्छ तर बुबाआमाको नागरिकता नहँुदा सन्तानको पहिचान सङ्कटमा परेका छन् । “नागरिकताको सिफारिसका लागि जन्मदर्ता खोज्छन्”, तर आफ्नो जन्मदर्ता छैन, रुपनी गाउँपालिका–६ का दीपेन्द्र सदा भन्नुहुन्छ, “नेपालमा जन्मिएँ, तर नेपाली भएको कुनै प्रमाण नहुँदा आफ्नो जीवन नै व्यर्थ भएको महसुस भइरहेको छ ।”

“नागरिकता नहुँदा राज्यको मात्रै होइन, समाज तथा समुदायबाट पनि अलग हुनुपरेको छ”, दीपेन्द्र भन्नुहुन्छ, “नागरिकताकै अभावमा गाउँस्तरमा बन्ने कुनै पनि समूहमा सदस्यता पाउन सकिरहेको छैन भने राज्यका हरेक सेवासुविधाबाट बञ्चित हुनुपरेको छ ।” रुपनी गाउँपालिकाका चुनरदेवी, बिलट, सङ्गीता र दीपेन्द्र मात्र होइन, सो गाउँपालिकाका विभिन्न वडाका दलित बस्तीमा नागरिकताको समस्या अझै भयावह छ । वडामा जन्मदर्ता, विवाहदर्ता र नागरिकताको ठूलो समस्या पाइएपछि व्यक्तिगत घटना दर्तासँगै नागरिकता र जन्मदर्ता बनाउने अभियान सुरु गर्न लागिएको छ ।

‘द फ्रिडम फण्ड’को सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले ती वडाका दलित बस्तीका हरवाचरवा परिवारलाई लक्षित व्यक्तिगत घटना दर्तासँगै नागरिकता र जन्मदर्ता बनाउने अभियान सञ्चालन गर्न लागिएको छ । दलित बस्तीमा नागरिकता र जन्मदर्ताको समस्या देखिए पनि अभियान नै चलाउन लागेको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सहजकर्ता पुनम चौधरीले बताउनुभयो । अधिकांश दलित बालबालिकाहरू जन्मदर्ताकै कारण पढ्न नसकेको समेत पाइएको सहजकर्ता चौधरीले बताउनुभयो ।

जनचेतना आभावमा नागरिकता र जन्मदर्ताको महत्व नबुझेर पूर्वजहरूले समयमै जन्मदर्ता, विवाहदर्ता, मृत्युदर्ता बनाउन होस् नपुर्याउँदा अहिलेका सन्ततिले नराम्ररी दुःख पाइरहेको रुपनी गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवले बताउनुभयो । प्रमाण जुटाउन नसक्दा जन्मदर्ता र नागरिकताको सिफारिस गर्न कठिनाइ भइरहेको सुनाउँदै गाउँपालिका अध्यक्ष यादवलले ती परिवारको नागरिकता समस्या समाधानका लागि आवश्यक पहल भइरहेको बताउनुभयो ।