images

सेफ सन्तोष साहको मिथिला थाली दोस्रो वर्षमा, काठमाडौंमा तीन शाखा

काठमाडौं । बीबीसीका मास्टर सेफ सन्तोष साहले सुरु गरेको ‘मिथिला थाली’ रेस्टुरेन्ट दोस्रो वर्षमा प्रवेश गरेको छ। मिथिलाको मौलिक परिकार प्रवर्द्धन गर्ने उद्देश्यले गत वर्षको असार ६ गते आमाको हातबाट रिबन काटेर जनकपुरमा मिथिला खानाको रेस्टुरेन्ट सुरु गरेका साहले दोस्रो वर्ष नपुग्दै राजधानी काठमाडौंमा तीन शाखा विस्तार गरेका छन्।

जनकपुर तथा मधेसको मौलिक परिकारको स्वाद काठमाडौंबासीलाई खुवाउने योजनाका साथ उनले केही समयअघि झम्सिखेलमा मिथिला थाली सुरु गरेका थिए। साथै दोस्रो वर्ष पुगेको अवसरमा गौशालामा मिथिला थालीको तेश्रो आउटलेटको बिहीबार सफ्ट ओपनिङ गरिएको छ भने नक्सालको गैरीधारामा केही दिनमै नयाँ रेस्टुरेन्ट सञ्चालन हुने उनले जानकारी दिए।

‘जनकपुरमा अपेक्षाकृत सफलतापछि काठमाडौ उपत्यकाको झम्सिखेलमा रेष्टुराँ सुरु गरेका थियौं’, उनले भने, ‘झम्सिखेलको रेष्टुराँमा उत्साहजनक प्रतिक्रियापछि गौशाला र गैरीधारामा रेस्टुरेन्ट सुरु गर्न लागिएको हो।’

उनका अनुसार गौशालाको आउटलेटमा विशुद्ध शाकाहारी परिकार उपलब्ध हुनेछ। पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने तिर्थयात्रीलाई लक्षित गरी शाकाहारी रेस्टुरेन्ट सुरु गर्न लागिएको उनको भनाइ छ। साहले अब काठमाडौंबासीले गौशालामै मिथिला क्षेत्रको मौलिक परिकारको स्वाद लिन पाउने बताए। मिथिला थालीअन्तर्गत ग्राहकले एकै थालीमा १७ परिकारको स्वाद लिन सक्नेछन्।

‘मेरो उद्देश्य मिथिलाको मौलिक खानासँगै संस्कृति र कला पनि प्रबद्र्धन गर्नु हो’, उनले भने, ‘त्यसैले रेष्टुराँमार्फत मिथिला झल्कने गरी मिथिला कलाले सजाइएको छ।’ रेष्टुराँमा  आउने ग्राहकले मिथिला आर्ट खरिद गरेर कलाकारलाई सहयोग पनि गर्न सक्ने साहको भनाइ छ। ‘हामीले मिथिला कलाकारका सिर्जनालाई यहाँ राखेका छौँ, ग्राहकहरुले यी कला खरिद गरेर उहाँहरूलाई आर्थिक रुपमा  सहयोग गर्न सक्नुहुनेछ’, उनले भने।

दाई दिलिप साहको प्रेरणाबाट सेफ बनेर बीबीसीको मास्टर सेफ २०२० को उपविजेता र मास्टर सेफको प्रोफेसनल रिम्याच २०२१ को बिजेता बन्दै विश्वभर नेपाली परिकार चिनाउन सफल साहले अहिले पनि दाइसँगको सहकार्यमा रेष्टुराँ विस्तार गरिरहेका छन्।

पछिल्लो समय उनी फूड टुरिजम प्रवर्द्धन गर्न पनि उत्तिकै सक्रिय छन्। गौशालाको रेस्टुरेन्टमा मिथिलाको शाकाहारी खाना मात्रै उपलब्ध हुने भए पनि गैरीधारा र झम्सिखेलका रेष्टुराँमा भने साहको कस्टमाइज मेनु उपलब्ध हुने र ग्राहकले नयाँ परिकारको स्वाद लिन पाउने उनको भनाइ छ।

साहले फूड टुरिजम अन्तर्गत माता सिताको जन्मभूमिको परिकारलाई भगवान रामको जन्मभूमि भारतको अयोध्यामा पुर्‍याउने गरी काम भइरहेको जानकारी दिए। उनका अनुसार अबको एक वर्षभित्रमा अयोध्यामा मिथिला थाली सुरु हुनेछ।

साथै कतारको राजधानी दोहामा पनि एक वर्षभित्रै रेस्टुरेन्ट सुरु गर्ने योजना रहेको उनको भनाइ छ। त्यसका साथै आगामी दिनमा मुलुकमा विभिन्न मुख्य सहरमा पनि रेस्टुरेन्ट विस्तार गर्ने उनको योजना छ।