भारत, फ्रान्स र अस्ट्रेलियाद्वारा स्वतन्त्र, नियम–आधारित इन्डो–प्यासिफिकप्रति प्रतिबद्धता

नयाँदिल्ली, ६ असार- तेस्रो भारत–फ्रान्स–अस्ट्रेलिया त्रिपक्षीय फोकल पोइन्ट बैठक बुधबार भर्चुअलरूपमा आयोजना गरिएको छ ।

बैठकमा तीनै पक्षले सामुद्रिक सुरक्षा, सामुद्रिक र पर्यावरण सहयोग तथा बहुपक्षीय संलग्नताअन्तर्गत भएका प्रगतिको समीक्षा गरेका थिए । भारत, अस्ट्रेलिया र फ्रान्सले आफ्ना साझा मूल्यहरूलाई अगाडि बढाउने र स्वतन्त्र, खुला, समावेशी तथा नियममा आधारित इन्डो–प्यासिफिकको दिशामा मिलेर काम गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेका छन् । भारतीय पक्षको नेतृत्व विदेश मन्त्रालयका सहसचिव (युरोप पश्चिम) र सहसचिव परमिता त्रिपाठी (ओसिनिया र इन्डो–प्यासिफिक) ले गर्नुभयो ।

फ्रान्सको विदेश मन्त्रालयका निर्देशक (एसिया र ओसिनिया) बेनोइट गाइडले फ्रान्सेली पक्षको नेतृत्व गर्नुभयो भने अस्ट्रेलियाली पक्षको नेतृत्व अस्ट्रेलियाली विदेश मामिला तथा व्यापार विभागका दक्षिण तथा मध्य एसिया डिभिजनका प्रथम सहायक सचिव सारा स्टोरीले गर्नुभयो । तीनै पक्षले सामुद्रिक सुरक्षा, सामुद्रिक तथा पर्यावरण सहयोग र बहुपक्षीय संलग्नासहित त्रिपक्षीय सहयोगका तीन स्तम्भअन्तर्गत भएका प्रगतिको समीक्षा गरेको भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमा जनाएको छ ।

“उनीहरूले इन्डो–प्यासिफिक ओसन इनिसिएटिभ (आइपिओआई) र इन्डियन ओसन रिम एसोसिएसन (आइओआरए) संयन्त्र, मानवीय सहायता तथा प्रकोप राहत (एचएडिआर) सहयोग र बहुपक्षीय संलग्नताको ढाँचाअन्तर्गत त्रिपक्षीय सहयोगलाई अगाडि लैजनाका लागि नयाँ प्रस्तावहरूको पहिचान गरेका छन्”, विज्ञप्तिमा भनिएको छ । विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सामाजिक सञ्जाल एक्समा छलफलले सहयोग बढाउन तीन वटा क्षेत्रलाई समेटेको बताउनुभयो । गत वर्ष दोस्रो भारत–फ्रान्स–अस्ट्रेलिया त्रिपक्षीय फोकल पोइन्ट बैठकमा तीन वटै पक्षले आगामी महिनाहरूमा शुरु गरिने प्रमुख परियोजनाहरूको पहिचान गरेका थिए । (रासस/एएनआई)