विदुरका उत्कृष्ट करदाता सम्मानित

त्रिशूली (नुवाकोट), ८ असार – जिल्लाको विदुर नगरपालिकाले सबैभन्दा धेरै कर तिर्ने १३ जना करदातालाई ‘उत्कृष्ट करदाता’ का रुपमा सम्मान गरेको छ ।

शुक्रबारदेखि सुरु भएको विदुरको १५औँ नगरसभाको अधिवेशनमा कर बुझाउनेमध्ये प्रत्येक वडाबाट एकजनाका दरले उत्कृष्ट करदातालाई सम्मान गरिएको हो । सभाध्यक्ष एवं नगरप्रमुख राजन श्रेष्ठका अनुसार पालिकामा रहेका १३ वडाबाट सबैभन्दा बढी कर बुझाउने १३ जना व्यवसायीलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा वडा नंं। १ बाट किरण खतिवडा, २ बाट भुवनलाल राजभण्डारी, ३ बाट मङ्गले श्रेष्ठ, ४ बाट भगवानराज श्रेष्ठ, ५ बाट मनमैजु इन्डस्ट्रिज प्रालि, ६ बाट सरस्वती धिताल लामिछाने र ७ बाट भैरवबहादुर भण्डारी हुनुहुन्छ । वडा नं. ८ देखि १३ बाट क्रमशः शिवप्रसाद अधिकारी, जितेन्द्रमान श्रेष्ठ, प्रकाश खतिवडा, निलप्रसाद चालिसे, अर्जुनप्रसाद रिमाल र अम्बरबहादुर तामाङ सम्मनित हुनुभएको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

विदुरले करको आकार बढाउने भन्दा दायरा बढाउँदै करदातालाई आकर्षित गर्ने र आन्तरिक श्रोत बढाउने लक्ष्य अनुरुप आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट केन्द्रित गरी कार्यान्वयनका लागि बजेट विनियोजन गरिने नगर उपप्रमुख प्रभा बोगटीले बताउनुभयो ।

शुक्रबारदेखि सुरु भएको नगरको अधिवेशनले नीति तथा कार्यक्रमलाई संशोधनसहित पास गरिसकेको छ । रु एक अर्ब ११ करोड हाराहारीको अनुमानित बजेटमाथिको छलफल जारी रहेको उपप्रमुख बोगटीले जानकारी दिनुभयो ।