images

माओवादीको महाधिवेशनको मिति छिट्टै घोषणा हुन्छः प्रधानमन्त्री दाहाल

काठमाडौँ – प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहालले अब छिट्टै पार्टीको राष्ट्रिय महाधिवेशन हुने बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अब छिट्टै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएर महाधिवेशनको मिति तय गर्ने बताएका हुन्।

समाजवादी क्रान्तिको नेतृत्व पार्टीले लिनुपर्ने भएकाले त्यसका लागि विचार संश्लेषण गरेर अघि बढ्न पनि पार्टीको महाधिवेशनको मिति तोक्न ढिलाइ गर्ने अवस्था नरहेको प्रधानमन्त्री दाहालको तर्क थियो।

प्रधानमन्त्री दाहालले मुलुकको समृद्धि, विकास र गणतन्त्रको सुदृढीकरणका माओवादी केन्द्रलाई भरपर्दो शक्तिको रुपमा विकास गर्ने पनि बताए।

नेपालमा समाजवादी क्रान्तिको प्रारम्भ छिट्टै हुने उल्लेख गर्दै उनले त्यसका लागि अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।

उनले भने,‘मैले आफ्नो ठाउँबाट फेरि समाजवादी क्रान्तिको निम्ति हामी अब महाधिवेशनतिर जान्छौँ। अबको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तोक्छ। पहिला पनि हामीले ऐतिहासिक दिन छानेर महाधिवेशनको उद्घाटन गरेका थियौँ। सायद त्यस्तै दिन छानेर महाधिवेशनको उदघाटन गर्छौं। नयाँ विचार संश्लेषण गर्छौँ। नयाँ अभियानसहित लैजान्छौँ। र गणतन्त्रको सुदृढकरणसहित देशलाई अघि बढाउन यही पार्टीले सक्छ भन्ने विश्वास दिलाएर छाड्छौँ।’