images

कम्युनिष्ट पार्टी पुनर्गठनको तयारी: बृहत् वामपन्थी एकीकरणमा जाँदैछौँ : अग्निप्रसाद सापकोटा

काठमाडौँ : पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले कम्युनिष्ट पार्टी पुनर्गठनको तयारी भइरहेको बताएका छन्।

काठमाडौँमा शनिबार आयोजित कार्यक्रममा सापकोटाले राजनीतिक मुद्दा मिल्नेहरूसँग मोर्चा बनाई बृहत् वामपन्थी एकीकरण गर्ने तयारीमा रहेको बताएका हुन् । कम्युनिस्ट पार्टीलाई विगतमा जोगाउन नसकिएको उल्लेख गर्दै अहिले बनेको नयाँ समीकरण हुँदै बृहत् वामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठनतिर अघि बढिरहेको उनको भनाइ छ ।

‘राजनीतिक पुनर्गठनमा मुद्दा मिल्नेहरूसँग खुकुलो प्रकारको मोर्चा, बृहत् वामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठन हो । हिजो हामीले पुनर्गठन गरेका थियौँ । त्यसलाई हामीले जोगाउन सकेनौँ, त्यो विघटन भएको छ, ’उपाध्यक्ष सापकोटाले भने, ‘आज नयाँ समीकरण बनेको छ । यो नयाँ समीकरण हुँदै हामी बृहत् वामपन्थी एकीकरण हुँदै कम्युनिस्ट पार्टीको पुनर्गठनतिर जाँदैछौं ।’

वामपन्थी एकीकरण हुन सक्दैन र त्यसले सरकार चलाउन सक्दैन भन्ने सार्वजनिक बहसमा सत्यता नरहेको उपाध्यक्ष सापकोटाको भनाइ छ । उनले भने, ‘अहिले के भनिरहेका छन् भने वामपन्थी एकीकरणले न सरकार चल्छ न देश चल्छ । होइन, यो विचारलाई हामी पूरै खारेज गर्न चाहन्छुँ । नेपाली जनता वामपन्थीहरूलाई रुचाउँछन् । वामपन्थीहरूलाई मन पराउँछन् मात्रै होइन, नेपाली जनता फेरि कम्युनिस्ट पार्टीको पुनर्गठन चाहन्छन् । त्यसकारण हाम्रो राजनीतिक कार्यदिशाको रूपमा बृहत् वामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठन ।’

राजनीतिक दलको कार्यदिशा अब त्यतातिर हुनुपर्ने सापकोटाको भनाइ छ । उनले समाजवाद भनेको गरिबी नभई सबैका लागि समृद्ध समाज बनाउने राजनीतिक कार्यदिशा भएको बताए ।