images

प्रधानमन्त्रीलाई गगनको आग्रह- मन्त्रीले नटेरेको हो भने बालुवाटारबाट तत्काल डेरा सरे हुन्छ

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पदबाट हट्न आग्रह गरेका छन्।

प्रधानमन्त्री दाहाल आफैले मन्त्रीहरूले आफूलाई नटेर्ने गरेको उल्लेख गर्दै थापाले बालुवाटारबाट डेरा सर्न आग्रह गरेका हुन्।

आफूले भनेको नटेर्ने मन्त्रीलाई फेर्न नसके प्रधानमन्त्रीले बालुवाटारबाट डेरा सर्नुपर्ने उनको भनाइ थियो।

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै महामन्त्री थापाले भने- ‘प्रधानमन्त्रीले के भन्नु भएछ भने- मेरो त मन छ, तर मन्त्रीले मानेन्। प्रधानमन्त्रीलाई कतिपटक भन्ने हो यो? यो संसदीय व्यवस्था हो। नटेर्ने मन्त्रीलाई फेर्ने हाे। फेर्न नसक्ने हो भने सिंहदरबार, बालुवाटारबाट डेरा सर्नुपर्छ।’

उनले स्थानीय तहलाई दिइँदै आएको समानीकरण अनुदान कटौती नगर्न पनि सरकारलाई सचेत गराए।

महामन्त्री थापाले स्थानीय तहले समानीकरण अनुदान पाउने संवैधानिक हक भएपनि संघीय सरकारले तजविजी अधिकारको रूपमा उपयोग गर्न खोजेको भन्दै आक्रोश पनि व्यक्त गरे।