images

कालिकामा छ हजार पशुलाई लम्पी स्किन विरुद्धको खोप लगाइँदै

नारायणगढ, १० असार – चितवनको कालिका नगरपालिकामा भएका पशुलाई लम्पी स्किन विरुद्धको निःशुल्क खोप लगाउन सुरु गरिएको छ ।

चालु आर्थिक वर्षको सुरुआतामा जिल्लामा महामारीका रुपमा फैलिएको लम्पी स्किनको सङ्क्रमण आगामी आवमा नफैलियोस् भन्ने उद्देश्यले आइतबारदेखि अभियान सञ्चालन गरेर खोप लागाउन सुरु गरिएको हो । नगरपालिकाका पशु सेवा शाखाका अधिकृत ईश्वरीप्रसाद पौडेलका अनुसार यो अभियानमा पालिकामा भएका गाईभैँसीसहित करिब छ हजार पशुलाई खोप लगाइने छ । गत साउन २५ देखि भदौ १५ गतेसम्म पनि खोप अभियान सञ्चालन गरिएको थियो ।

नगरभित्रका पाँच हजार आठ सय पशुलाई केही महिनाअघि खोरेत विरुद्घको खोप र बाख्रालाई पिपिआर विरुद्धको खोप लगाइसकिएको पौडेलले जानकारी दिनुभयो । कालिकामा किसानको गोठगोठमा पुगेर अन्य समयमा पनि पशुको अवस्थाबारे जानकारी लिँदै आइएको उहाँले बताउनुभयो । किसानका गोठगोठ पुगेर पालिकाका ११ वटा वडामा एकै साथ लम्पी स्किन विरुद्धको खोप अभियान सञ्चालन गरिएको पशु सेवा शाखाका अधिकृत पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अभियानका लागि पशु सेवा कार्यालय चितवनबाट प्राविधिकसहित दुई हजार पाँच सय मात्रा खोप प्राप्त भएको र बाँकी खोप र प्राविधिक नगरपालिकामार्फत व्यववस्थापन गरिएको छ । अभियानमा पालिकाभित्र रहेका दुग्ध उत्पादक सहकारीको साथ र सहयोग रहेको पौडेलको भनाइ छ । “नगरका तर्फबाट १२ जना प्राविधिक खटाएका छौँ । यहाँका सहकारी र स्थानीय पनि आवश्यक सहयोग गरेकाले खोप अभियान सञ्चालन गर्न सहज भएको छ । किसानको गोठमै पुगेर खोप लगाइरहेका छौँ”, उहाँले भन्नुभयो ।

अभियान एक सातासम्म सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । पौडेलका अनुसार चालु आवको सुरुमा कालिकामा लम्पी स्किनको सङ्क्रमणबाट १५ वटा पशु मरेका थिए । कूल पशुको सात प्रतिशतमा यसको सङ्क्रमण भएकोे थियो । “गत साउनमा बेलैमा खोप अभियान थाल्दा धेरै पशुको क्षति हुन पाएको थिएन”, उहाँले भन्नुभयो, “यस वर्ष सङ्क्रमण हुनुअघि नै खोप लगाउँदा सङ्क्रमणको जोखिम कम गर्न सकिने विश्वास लिएका छौँ ।”