images

जिबी राईलाई नेपाल ल्याउन प्रक्रिया अगाडि बढाइएको छः गृहमन्त्री लामिछाने

काठमाडौँ – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा मुछिएका जिबी राईलाई नेपाल झिकाउन मलेसियाका गृहमन्त्रीसँग कुराकानी गरेर प्रक्रिया अगाडि बढाइएको दाबी गरेका छन्।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले राज्यका निकायले गरेको अनुसन्धानबाट जिबी राई मलेसियामा रहेको तथ्य पत्ता लागेको भन्दै उनलाई नेपाल झिकाउने सन्दर्भमा मलेसियाका गृहमन्त्रीसँग दुई पटक कुराकानी गरिसकेको बताए।

उनले कानुनी माध्यमबाट नै समस्याको हल गर्नुपर्ने भन्दै दुवैतर्फका राज्य संयन्त्र संवादमा रहेका बताए। उनले संवादको क्रममा मलेसिया सरकार सकारात्मक देखिएको र माग गरेअनुरुपको कागजात नेपालबाट पठाइएको पनि जानकारी दिए।

उनले जिबी राईलाई नेपाल ल्याएर पीडितको बचत फिर्ता गराउने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए। मन्त्री लामिछानेले आफूमाथि लागेको लाञ्छनाबाट मुक्ति पाउनका लागि पनि राईको पक्राउ आफ्नो लागि व्यग्र प्रतिक्षाको विषय बनेको उल्लेख गरे।

उनले भने, ‘विभिन्न अनुसन्धानबाट राज्यका निकायले अहिले उनी (जिबी राई) मलेसियामा रहेको तथ्य पत्ता लगाएका छन्। उनलाई पक्राउ गरेर नेपाल ल्याउने विषयमा मैले त्यहाँका गृहमन्त्रीज्युसँग दुई पटक टेलिफोनमा कुराकानी गरेको छु। दुवैतर्फका राज्यस्तरीय संयन्त्रहरु संवादमा छन्।’