images

ज्ञानेन्द्र शाहीलाई प्रचण्डको जवाफ- यो देशमा प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ

काठमाडौँ-संघीय संसद अन्र्तगत प्रतिनिधि सभाको मंगलबारको बैठकमा परराष्ट्र मन्त्रालयअन्तर्गत सांसदहरूले उठाएका प्रश्नको जबाफ दिने कार्यक्रम चल्यो। परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ इरान गएकोले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले नै परराष्ट्र मन्त्रालयको पनि कार्यभार सम्हालेका छन्। त्यसैले प्रधानमन्त्री दाहाल सांसदहरूका प्रश्नमाथि जबाफ दिन रोस्टममा पुगे।यसै क्रममा राप्रपाका सांसद ज्ञानबहादुर शाहीले सरकारको भूमिकामाथि प्रश्न उठाउँदै यो देशमा प्रधानमन्त्री छ कि छैन ? भन्दै प्रश्न गरेका थिए । रुस युक्रेन युद्धका क्रममा नेपालीहरूको मृत्यु हुँदा पनि सरकारले चासो नदिएको भन्दै शाहीले उक्त प्रश्न गरेका थिए ।

सांसदहरूका प्रश्नको जबाफ दिन रोस्टममा पुगेका प्रधानमन्त्री दाहालले ज्ञानेन्द्र शाही सदनमा रहे, नरहेको खोजे। ‘नेपालमा प्रधानमन्त्री छ कि छैन भन्ने प्रश्न गर्ने माननीय यहीँ हुनुहुन्छ कि जानुभयो? भन्ने प्रधानमन्त्री दाहालको भनाइ थियो।

त्यसपछि ज्ञानेन्द्र शाहीले छु भन्दै हात उठाएका थिए। यसपछि प्रधानमन्त्री दाहालले जबाफ दिन सुरू गरे। ‘नेपालमा प्रधानमन्त्री छ, त्यो पनि अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ,’ दाहालले भने, ‘सरकारले पठाएर नेपाली नागरिक रुसी सेनामा त गएका होइनन्।’ प्रधानमन्त्री दाहालले राति १२ बजे पनि रुस-युक्रेन लडाइँमा रहेका नेपालीहरूसँग आफूले कुरा गर्ने गरेको बताए।

‘मोर्चामा भएका, लडाइँ लड्दै गरेका नेपालीहरूसँग राति १२ बजे फोनमा कुरा गर्ने गरेको छु। उनीहरूलाई फिर्ता ल्याउन राय लिएको छु,’ प्रधानमन्त्री दाहालले भने, ‘त्यस्तो प्रधानमन्त्री तपाईं कुनै दिन हुनु भएछ भने तपाईंले कति गर्नुहुन्छ म हेर्न चाहन्छु।’