images

सहकारी ठगीमा सभापति जोगाउने रास्वपाको चिन्ता : महामन्त्री शर्मा

काठमाडौँ : नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सहकारी ठगीबाट पार्टी सभापतिलाई कसरी जोगाउने भन्ने मात्रै चिन्ता रहेको आरोप लगाएका छन्।

मंगलवार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले आफ्नो दलको सभापतिलाई सहकारी ठगीबाट कसरी जोगाउन सकिन्छ भन्ने चिन्ता रहेको पार्टीले देश बनाउन नसक्ने बताए।

उनले नेकपा एमालेप्रति लक्षित गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई गिरिबन्धु टिस्टेट प्रकरणबाट जोगाउन लागिपरेको बताए। उनले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री पदलाई दमदार बनाउनुपर्छ भन्ने गरी काम गर्न नसकेको बताए। उनले प्रधानमन्त्री दाहाल गणित मिलाएर सरकारमा रहने कुरामा मात्रै केन्द्रित रहेको बताए।

शर्माले भने, ‘कसरी हुन्छ आफ्नो दलका सभापतिलाई सहकारी ठगीबाट जोगाउन सकियोस्। एउटा दलको चिन्ता त्यति मात्रै छ। अर्को दलको चिन्ता आफ्ना अध्यक्ष गाँसिएको गिरिबन्धुको ठगीबाट अध्यक्षलाई जोगाउन सकियोस् भन्ने छ। प्रधानमन्त्रीलाई चिन्ता गणितलाई कसरी रक्षा गर्ने भन्ने मात्रै छ।’

महामन्त्री शर्माले नेपालमा आशावादी सम्भावना रहे पनि त्यसलाई सदुपयोग गर्न नसकेको बताए।