images

प्रधानमन्त्रीको आवाजलाई नै नसुनी बजेट पारित भयो : सांसद खतिवडा

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रधानमन्त्रीको आवाजलाई समेत नसुनिकन पारित भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित गरेसँगै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद खतिवडाले प्रधानमन्त्रीलाई नै नटेरेको बजेट प्रतिनिधि सभाबाट पारित भएको टिप्पणी गरेका हुन् ।

‘प्रधानमन्त्रीले भनेकै कुरा लागु नहुने अवस्था सिर्जना भएको छ । ३ करोड भन्दा तलका योजना मुनिका योजना सबै प्रदेश र स्थानीय तहमा पठाऔँ भन्नुभयो । तर मन्त्रीहरु अहिले पनि मानेका छैनन् । प्रधानमन्त्रीलाई नटेरेको बजेट पास हुँदैछ । प्रधानमन्त्रीय प्रणालीमा प्रधानमन्त्रीको आवाजलाई नसुनिकन बजेट पास भयो,’ सांसद खतिवडाले भने ।

सांसद खतिवडाले मन्त्रीहरूले आफ्नो क्षेत्रमा मात्र नभई आफन्तहरूकामा समेत बजेट विनियोजन गराएको बताए । ‘अब परिवर्तन नगर्ने हो भने सांसदहरु संसदभित्र आएर बोल्ने, कराउने, हिँड्ने । मन्त्रीहरूले आफ्ना क्षेत्रमा रकम राख्ने । आफ्नामा मात्रै होइन, श्रीमतीकोमा पनि राख्ने । जेठी सासुकोमा पनि राख्ने । ज्वाइँकोमा पनि राख्ने । आफूलाई मन्त्री बनाउने नेताकोमा पनि राख्ने । अन्त राख्दै नराख्ने । अनि समानुपातिक पद्धतिको विकास पनि हुँदैन । दुर्गममा विकास नहुने पद्धतिको विकास भयो,’ सांसद खतिवडाले भने ।