images
images

युएई र नेपाल सरकार बीच द्विपक्षीय तेस्रो बैठक सम्पन्न [ प्रेस विज्ञप्ति सहित ]

काठमाडौं।नेपाल सरकार र संयुक्त अरव इमिरेट्स (युएई) सरकार बीच सन् २०१९, जुन १४ मा सम्पन्न द्विपक्षीय श्रम समझदारी बमोजिमको संयुक्त कार्य समितिको तेस्रो बैठक सम्पन्न भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा सम्पन्न उक्त बैठकमा दोस्रो बैठकमा भएका समझदारीको कार्यान्वयन तथा प्रगति अवस्थाको समिक्षा गर्दै द्विपक्षीय श्रम समझदारीमा व्यवस्था भए वमोजिम आगामी ४ वर्षको लागि स्वतः नविकरण हुने समझदारी भएको छ ।

त्यस्तै  बैठकमा नेपालको तर्फबाट समितिमा भाग लिने कार्यदलको नेतृत्व गर्दै मन्त्रालयका सहसचिव श्री राजिव पोखरेलले द्विपक्षीय समझदारीको पुनरावलोकन नेपाल सरकारको श्रम तथा वैदेशिक रोजगारसम्बन्धी पछिल्ला कानूनहरूको जानकारी गराउनु भएको थियो ।

नेपाली श्रमिकहरूलाई युएईमा न्यूनतम तलवको सुनिश्चितता, मृत्यु हुने नेपाली श्रमिकहरूको शव सहज रूपमा नेपाल ल्याउने व्यवस्था जेल तथा कैदमा रहेका नेपाली श्रमिकहरूको विवरण तथा अलेखबद्ध रूपमा युएईमा रहेका नेपाली श्रमिकहरूलाई आममाफी सहित नेपाल फिर्तीमा सहजीकरण, नेपाली श्रमिकहरूको सीप स्तरोन्नतीका लागि द्विपक्षीय सहकार्य, स्वच्छ तथा मर्यादित भर्ना प्रक्रिया जस्ता विषयहरूमाथि छलफलका लागि प्रस्ताव राख्नु भई संयुक्त कार्यसमितिको बैठक अगाडि बढाउनु धारणा व्यक्त गर्नु भएको थियो।

नेपालले  राखेका प्रस्ताव छलफल गर्दै युएई सरकारका तर्फबाट नेतृत्व गरेका सहायक उपसचिव अबदुल्ला अल्नुईमी ले युएईको श्रम बजारको अवस्था चित्रण गरेका थिए ।  आफ्नो कार्यदल र युएई सरकार नेपालले राखेका प्रस्ताव सम्बोधनका लागि सकारात्मक रहेको प्रतिक्रिया दिए । यूएईले नेपालबाट घरेलु कामदार लैजान इच्छुक रहेको बताउँदै प्रक्रिया अगाडि बढाउन आग्रह गरेको थियो ।

उक्त संयुक्त कार्यसमिति बैठकको शुभारम्भमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव श्री केवल प्रसाद भण्डारीले बैठक सफलताको शुभकामना व्यक्त गर्दै वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन दुवै सरकारको भूमिका उल्लेखनीय रहेको बताउनु भएको थियो । साथै वैदेशिक रोजागरीको भर्ना प्रकृया स्वच्छ तथा मर्यादित बनाउन दुबै सरकारबीच आपसी सहकार्य अभिवृद्धि गर्दै जानुपर्नेमा जोड दिनुभयो ।