images

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै: महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजको टुंगो लगाइने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सचिवालय बैठक बिहीबार बस्ने भएको छ ।

आज दिउँसो केन्द्रीय कार्यालयमा बस्ने बैठकमा महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, समाजवादी कार्यक्रम, विधान र सांगठनिक दस्तावेजको टुंगो लगाइने स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दि‍ए ।

बैठकले पार्टीको आसन्न दशौं राष्ट्रिय महाधिवेशनको तयारी, विभिन्न दस्तावेज अनुमोदन तथा प्रतिनिधिको नामवली स्वीकृत, मातहतका कमिटीको कार्य प्रगतिको समीक्षा गनेृ पनि उनले बताए ।

यही असार १६ देखि २० गतेसम्म काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनले पार्टीको नीति तथा कार्यक्रमका आधारमा नयाँ नेतृत्व चयन गर्नेछ ।

यसैबीच एकीकृत समाजवादीले आसन्न राष्ट्रिय महाधिवेशनमा करिब दुईसय स्वयंसेवक परिचालन गर्ने भएको छ । पार्टी निकट राष्ट्रिय खेलकुद महासंघ, मजदुर संगठन र भूतपूर्व सुरक्षाकर्मीलाई समावेश गरी स्वयंसेवक परिचालन कमिटी गठन गरिएको हो ।

महाधिवेशनस्थलको व्यवस्थापन, सबै प्रतिनिधि तथा विशिष्ट नेताको सुरक्षा, प्रतिनिधिलाई आवाससम्म लैजाने र ल्याउने, भीड व्यवस्थापन, शुभकामना दिन आउने विभिन्न पार्टीका नेतागण, पर्यवेक्षकलगायतको सुरक्षा व्यवस्थापनलगायत कामको जिम्मा दिइएको कमिटी संयोजक केशव विष्टले जानकारी दिए ।

पार्टी अध्यक्ष माधवकुमार नेपाल नेतृत्वमा गठित महाधिवेशन मूल व्यवस्थापन समितिले मातहतका अन्य १३ कमिटीले गरेका सम्पूर्ण कामहरू महाधिवेशन केन्द्रित गर्न भनिएको छ । उक्त समितिले महाधिवेशनका आवश्यक सबै काम अन्तिम चरणमा पुगेको जनाएको छ ।

पार्टी तथा जनसंगठनका सबै तहका कमिटीले सम्पूर्ण कामलाई महाधिवेशन केन्द्रित गर्ने र महाधिवेशन प्रभावित हुने गरी पार्टी सङ्गठनका कुनै गतिविधि नगर्न निर्देशन दिएको छ ।

पार्टीले देशभरबाट एक हजार आठसय ४९ प्रतिनिधि छनोट गरेको छ । छनोट गरिएका प्रतिनिधिको कूल संख्याको पाँच प्रतिशतअर्थात् ९५ जना प्रतिनिधि मनोनयन गर्ने व्यवस्था छ । केही दिनमा ती प्रतिनिधि मनोनयन गरिने जनाइएको छ ।