images
images

पत्रकारको स्वास्थ्य बीमा प्रदेश सरकारले गरिदिन्छ : मुख्यमन्त्री पाण्डे

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र कार्यक्षेत्र भएका सबै पत्रकारको स्वास्थ्य बीमा प्रदेश सरकारले गरिदिने बताए ।

पत्रकारको हकहितका विषयमा प्रेस सेन्टर नेपाल, गण्डकी प्रदेश समितिबाट आज ध्यानाकर्षणपत्र बुझ्दै उहाँले आगामी आवको बजेटमा उक्त कार्यक्रम समावेश हुने उल्लेख गरे  ।

“हाम्रो क्षमताले भ्याएसम्म पत्रकारिता क्षेत्रको विकासमा हातेमालो गर्न प्रदेश सरकार तयार छ, पत्रकारको स्वास्थ्य बीमाको कार्यक्रम नीतिमा आइसकेको छ, बजेटमा पनि आउँछ”, मुख्यमन्त्री पाण्डेले भने , “वास्तविक पत्रकारको हातमा बीमाको सुविधा जाओस् भन्ने हाम्रो चाहना छ, यसमा तपाईंहरूको सहयोग चाहिन्छ ।”

लोककल्याणकारी विज्ञापन, पत्रकारको लेखनवृत्ति, क्षमता विकासलगायतका क्षेत्रमा पनि सरकारले सहयोग गर्ने उनले बताए । मुख्यमन्त्री पाण्डेले पत्रकारिता स्वच्छ, स्वतन्त्र र मर्यादित हुनुपर्ने धारणा राखे । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षामा प्रदेश सरकार दृढ रहेको उनको भनाइ थियो ।

प्रेस सेन्टरले पत्रकारितासँगै देशको समसामयिक अवस्थाबारे आज प्रधानमन्त्रीसहित, सातै प्रदेशका मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीसमक्ष ध्यानाकर्षणपत्र बुझाएको हो । ध्यानाकर्षणपत्रमा श्रमजीवी पत्रकार र सञ्चार क्षेत्रले भोगिरहेका समस्याको समाधान गर्न माग गरिएको छ ।

सरकारले ल्याएको समानुपातिक विज्ञापन नीतिलाई व्यावहारिकरूपमा कार्यान्वयन गर्नुपर्ने, संविधानले सुरक्षित गरेका जनपक्षीय उपलब्धिलाई संस्थागत गर्नुपर्ने, आमसञ्चारसँग सम्बन्धित कानून प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री हुनुपर्ने, पत्रकारलाई सामाजिक सुरक्षा कार्यक्रममा समेट्नुपर्नेलगायतका माग गरिएको छ ।