images
images

नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुन्छः घनश्याम भूसाल

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुने बताएका छन्।

भोलिदेखि सुरू हुने पार्टीको महाधिवेशनबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा महासचिव भूसालले समाजवादी कार्यक्रम ल्याउने, स्थापित गर्ने, मुलुकमा वाम विकल्प दिने गरी नेतृत्व निर्माण गर्ने प्रतिवद्धता जनाएका हुन्।

उनले विगतमा असाधारण वाम विकल्प रहेको र अहिले भत्किएको भन्दै त्यसलाई समेत् जोड्ने गरी नेतृत्व चयन हुने बताए।

‘आगामी दिनमा हामीले समाधान गर्नुपर्ने सबै समस्यालाई समाधान गर्दै समाजवादी कार्यक्रमलाई बोक्ने, स्थापित गर्ने र मुलुकमा एउटा वाम विकल्प, जति सकिन्छ छिटो दिने हो । हिजो एउटा वाम विकल्प थियो, असाधारण वाम विकल्प थियो, त्यो भत्किएको थियो, भत्किएको छ, त्यसलाई समेत जोड्ने र इतिहासको त्यो दायित्वलाई पनि पूरा गर्नसक्ने गरी हाम्रो नेतृत्व एकतावद्ध भएर हाम्रो नेतृत्व चयन गर्नेछौं,’ उनले भने।

महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै समाजवादी कार्यक्रमलाई बोक्ने शक्ति निर्माण गर्ने बताए।

महासचिव भूसालले पार्टीको महाधिवेशनबाट पारित दस्तावेजले दशकौंसम्म कम्युनिष्ट आन्दोलनलाई दिशा निर्देशित गर्ने पनि बताए।