images

कम्युनिष्टहरुबीच पुन: एकता हुनैपर्छ, समाजवाद निर्माण गर्न जमिनलाई राष्ट्रियकरण गर्नुपर्छ: वामदेव गौतम

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले कम्युनिष्टहरुबीच पुनः एकता हुनपर्ने बताएका छन्।

शनिबार काठमाडौंमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उनले कम्युनिष्ट पार्टीले एकता गर्छौं भनेर आफ्नो प्रस्ताव राख्नुपर्ने बताए।

उनले कम्युनिष्ट पार्टीको घोषणापत्रमा भनेअनुसार समाजवाद निर्माण गर्न सबैभन्दा पहिला जमिनलाई राष्ट्रियकरण गर्नुपर्ने बताए। जमिन उत्पादनको साधनको सबैभन्दा मूल यन्त्र भएकाले राज्यले आफूसँग नलिइकन समाजवाद स्थापना नसकिने उनको भनाइ छ।

‘कमसेकम कम्युनिष्ट पार्टीले हामी एकता गर्छौं भनेर आफ्नो प्रस्ताव राख्नुपर्‍यो। हामी एकता गर्छौं। नेपालमा कम्युनिष्ट क्रान्तिकारीहरुको बीचमा एकता हुनैपर्छ। त्यही कम्युनिष्ट पार्टीको घोषणापत्रमा भनेको छ। समाजवाद निर्माण गर्न सबैभन्दा पहिला जमिनलाई राष्ट्रियकरण गर’, नेता गौतमले भने, ‘राष्ट्रियकरण किन गर्ने भन्दा जमिन उत्पादनको साधनको सबैभन्दा मूल यन्त्र हो, मूल शक्ति हो, मूल उत्पादक साधक हो। त्यो शक्ति आफूसँग नलिइकन समाजवाद स्थापना गर्न सकिँदैन। फेरि पनि कम्युनिष्टहरु बीचको एकता हुनैपर्छ।’

उनले कम्युनिष्टहरुको एकताको लागि आफू पुनः सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाए।