images

एकीकृत समाजवादीको दस्ताबेजमा माओवादीलाई अस्थिर भनेकोमा प्रचण्डको चित्त दुखाई

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एकीकृत समाजवादी) को राजनीतिक दस्ताबेजमा आफूलाई अस्थिरताको कारक बनाएको भन्दै असन्तुष्टि जनाएका छन्।

आइतबार नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले विभिन्न राजनीतिक शक्तिहरुको मूल्यांकन गर्दा नेकपा (माओवादी केन्द्र) लाई नजिकको शक्ति र आफूलाई अस्थिर भनेको भन्दै आपत्ति जनाए।

उनले राजनीतिक दलको भन्ने अधिकारमाथि प्रश्न उठाउने कुरा नहुने भन्दै पुनःविचार गर्न भने आग्रह गरे। उनले संघीय लोकतान्त्रिक गणतन्त्र आफू अलिकति अस्थिर नभएको भए सम्भव नरहेको पनि दाबी गरे।

उनले आफू अस्थिर नभएको भए जनयुद्ध नै नहुने जिकिर गरे। उनले आफू केही अस्थिर भएकाले नै अहिले समृद्धिको अभियान चलेको दाबी गरे।

उनले भने, ‘तपाईंहरुले विभिन्न राजनीतिक शक्तिहरुको मूल्यांकन गर्दा हामीलाई अलि नजिकको शक्ति पनि भन्नुभएको छ। साथसाथै अलि बढी अस्थिर पनि भन्नुभएको छ। तपाईंहरुलाई त्यो भन्ने अधिकारमाथि म प्रश्न उठाउन चाहन्न। हरेक राजनीतिक पार्टीले अर्को राजनीतिक पार्टीलाई हेर्ने दृष्टिकोण आफ्नो बनाउन जरुरी पनि छ। तपाईंहरु बनाउनुस्। तपाईंहरुलाई जे बनाउन उचित लाग्छ, त्यो बनाउने अधिकार क्षेत्रभित्रको कुरा हो। आज नेपाल संविधान सभामा गयो। संघीय लोकतान्त्रिक गणतन्त्रमा गयो। शान्ति प्रक्रिया भयो। समृद्धिको अलि नयाँ अभियान चलेको छ। प्रचण्ड अलि अस्थिर नभएको भए हुँदैन थियो। प्रचण्ड अस्थिर नभएको भए जनयुद्ध पनि हुँदैन थियो।’

उनले देशका सबै देशभक्त र वामपन्थी शक्तिहरु एकताबद्ध भएर जनताको आवश्यकता र चाहनालाई सुशासन सामाजिक न्याय र समृद्धिको आकांक्षालाई सम्बोधन गर्न सक्नुपर्ने बताए ।