images
images

प्रमुख दुई ठूला दलका शीर्ष नेताहरुबीच भेट हुनासाथ सत्ता समीकरण नफेरिने:सांसद सापकोटा

काठमाडौं –नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रमुख दुई ठूला दलका शीर्ष नेताहरुबीच भेट हुनासाथ सत्ता समीकरण नफेरिने बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद सापकोटाले नेपाली काँग्रेस र नेकपा (एमाले)का शीर्ष नेताहरुको भेट हुनासाथ सत्ता समिकरण उलटफेर नहुने बताएका हुन्।

उनले सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुका बीचमा संवाद हुनासाथ सत्ता गठबन्धन परिवर्तन नहुने बताए। उनले नेताहरु भेट हुनासाथ सत्ता समीकरण बदलिने भाष्य बनाउँदा यसले स्थिरताको मानसिकता नदिने बताए।

उनले भने ‘दुई दिनका राजनीतिक घटनाक्रम र समाचारहरुलाई नजिकबाट नियाल्यौँ भने अहिले सिंगै राजनीति तरंगित भएको छ । एउटा दलका नेता र अर्को दलका नेता अथवा सत्तापक्षको दलका नेता र प्रतिपक्षका दलका नेताका बीचमा संवाद हुँदाबित्तिकै सत्ता गठबन्धनमा उलटफेर आउने भयो भनेर ठूला–ठूला ब्यानर न्युजहरु हामीले पढ्न पाउछौँ। मलाई त्यस्तो के लाग्दैन भने तुरुन्तै दुईजना नेताहरु बस्न बित्तिकै पुरै सत्ताको समिकरण उलटफेर हुने। सत्ताको समिकरण नै बदलिने त्यस्तो परिस्थितिका रुपमा हाम्रो जे भाष्य बनाउने, विश्लेषण बिना नै निष्कर्षमा पुग्ने जे परिपाटी छ। यसले समग्र समाजमा स्थिरताको मानसिकता दिँदैन। त्यसमा सत्यता छ मलाई त्यस्तो पनि लाग्दैन। तरपनि राजनीतिक दलका नेताहरुका बीचमा संवाद हुने कुरा सकारात्मक हो र राम्रो हो।’

सांसद सापकोटाले शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउनुपर्नेमा सबै राजनीतिक दलहरुलाई ध्यानाकर्षण गराए।