एलओडीले वातावरण प्रदूषणसम्बन्धी भिडियो देखाउने

काठमाडौँ – एलओडी क्लबले सामाजिक दायित्वअन्तर्गत ‘राष्ट्रको लागि २ घन्टा अभियान’ मा सहभागिता जनाएको छ।

वातावरण प्रदूषण न्यूनीकरण गर्न सचेतना प्रवर्द्धन कार्यक्रममा सहभागिता जनाउँदै क्लबका उपाध्यक्ष राजु सिंह, निर्देशक भूपेन शमशेर कुँवर र अभियानकोतर्फबाट अध्यक्ष मधु ढुंगेलले हस्ताक्षर गरेका छन्।

प्रत्येक शुक्रवार वातावरण प्रदूषणसम्बन्धी सचेतनामूलक जिङ्गल तथा सन्देशमूलक भिडियो युवाहरूमाझ क्लबमा देखाउनुपर्ने सम्झौता भएको हो। क्लबले अन्य वारभन्दा शुक्रवार बढी मनोरञ्जन गर्न आउनेको संख्या बढी हुने भएकाले यस्ता भिडियोले अभियानमा थप बल पुग्ने विश्वास गरेको छ।

उनका अनुसार यसअन्तर्गत वातावरण प्रदूषणले पृथ्वीमा रहेका प्राणी तथा जैविक विविधतामा कस्तो असर परेको छ भनेर देखाइनेछ।

मानवीय क्रियाकलापबाट सिर्जित बढ्दो शहरीकरण, फोहोरमैला र जनसंख्याको वृद्धि नै वातावरण प्रदूषणका कारक रहेकाले आफ्नो वरिपरीको वातावरण सफा राख्न समस्त युवा तथा सचेत नागरिक एक हुनुपर्ने क्लबका निर्देशक कुँवरले धारणा राखे।

सम्झौताले क्लबलाई वातावरण तथा राष्ट्र निर्माणमा क्लब अझ जिम्मेवार बन्न प्रेरित गरेको विश्वास व्यक्त गरे। राष्ट्र निर्माणमा हरेक मानिसको उत्तिकै योगदान रहेको कुँवरले बताए।

‘विशेष गरेर मानवीय क्रियाकलापबाट वायु, जल, भू र खाद्य वस्तुमा प्रदूषणले असर गरिरहेको छ,’ उनले भने, ‘क्लबमा आउने हरेक ग्राहकले आफूले वातावरणमा गर्नुपर्ने दायित्वका बारेमा मनन गर्नेछन्।’

अभियानका अध्यक्ष ढुंगेलले राष्ट्र निर्माणमा हरेक मानिसको उत्तिकै योगदान रहने बुझाउन यो अभियानले सहयोग गर्ने बताए।

‘वातावरण रहे मात्रै हामी बाँच्न सक्छौँ भन्ने हेक्का नराखी दिनानुदिन शहरीकरण बढ्दो अवस्थामा छ,’ उनले सम्झौतापश्चात भने, ‘विषालु रसायनहरूको प्रयोगले गर्दा मानवजातिको मात्रै नभई पृथ्वीमा रहेका जीवजन्तु र वनस्पति समेत क्षणभरमै नष्ट हुनसक्ने गम्भीर खालका परिवेशहरू हाम्रा अगाडि आइरहेका छन्।’