images

अध्यक्ष ओलीले आफ्ना सबै मन्त्रीलाई किन बोलाए बालकोट ?

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी पार्टीका सबै मन्त्रीलाई बालकोट बोलाएका छन् । अध्यक्ष ओलीले आज साँझ साढे ६ बजे बालकोटस्थित आफ्नो निवासमा मन्त्रीहरूलाई छलफलका लागि बोलाएका हुन् ।

पछिल्लो समय प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताबीच द्विपक्षीय भेटवार्ता बाक्लिएका वेला एमाले अध्यक्षले मन्त्रीहरूलाई सामूहिक रूपमा भेटका लागि बोलाउनुलाई सत्ता राजनीतिमा चासोका साथ हेरिएको छ । पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओली तथा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बेग्लाबेग्लै भेटवार्ता चलिरहेका छन् ।

ती भेटवार्तामा लामो समयसम्म नेताहरू छलफलमा बसेको देखिन्छ । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्षबीच आजै पनि भेटवार्ता भएको छ । ओली र देउवाको पछिल्लो भेटपछि भने राजनीतिक वृत्त तरंगित बनेको छ । सामाजिक सञ्जालहरूमा त्यसलाई सम्भावित सत्ता परिवर्तनको तयारीका रूपमा चर्चा भइरहेको छ ।