काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने बताएकी छन् । आज (सोमबार) प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले आफू मन्त्री रहँदासम्म शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने बताएकी हुन् । उनले विश्वविद्यालयमा प्रहरी परिचालन गरेर भए पनि राजनीतिक दलका भातृ संगठनको हस्तक्षेपलाई अन्त्य गर्ने बताइन् । उनले त्रिभुवन विश्वविद्यालयमा सेवा आयोगले खोलेको विज्ञापनमा अन्तर्वार्ता प्रहरी राखेर गर्नुपरेको बताइन् ।
उनले भनिन्, त्रिविमा सेवा आयोगले नयाँ विज्ञापन खोलेको थियो । त्यो विज्ञापन गर्न पाइँदैन भनेर फेरि अर्को एउटा समूह उठेछ र तालाबन्दी गरेछ । धम्की दिएछ । प्रहरीहरू राखेर अन्तर्वार्ता गर्नुपर्ने । प्रहरीहरू राखेर गर्नुपर्ने काम छ । यसमा सबैले म म गर्नुपर्ला । त्यो भ्रातृ संगठनहरु कुन राजनीतिक दलको हो भनेर । शिक्षामन्त्री गयो भने राजनीतिक हस्तक्षेप, प्रहरी गयो भने राजनीतिक हस्तक्षेप । गुण्डागर्दीहरूको राजनीतिक हस्तक्षेप हुँदैन ? त्यसकारण यो त्यतिबेलासम्म कायम हुन्छ जुन बेलासम्म दलीय राजनीतिक हस्तक्षेप अन्त्य हुँदैन । तर जबसम्म म शिक्षामन्त्री छु, बरु प्रहरी प्रयोग गर्छु । तर गुण्डागर्दी सहिन्न । दलीय राजनीतिकरण हटाएरै छोड्ने हो । जसरी भए पनि छोड्ने हो ।’
उनले भनिन्, ‘एसइईको नतिजामा शिक्षा मन्त्रालयले मात्रै होइन सिङ्गो समाजले आक्रोशित हुनुपर्छ । ग्लानी महसुस गर्नुपर्छ र सोध्नुपर्छ । म म गर्नुपर्छ । मैले गर्ने काम मैले के गरेको छ कि छैन भनेर । किनभने १० कक्षाको नतिजा अहिले मात्रै आएको हो ? १० वर्ष अगाडि त त्यो बच्चा १ कक्षामा थियो । त्यो भन्दा अगाडि इसिडिमा थियो । त्यो बेलादेखि हामीले गरेको लगानी, हामीले कत्तिको यसमा एफोर्ट लगाएका छौँ भन्ने । यो विद्यार्थीहरू फेल भएको भन्दा पनि यो हाम्रो चित्रण हो भनेर मलाई लाग्छ ।’