images

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द भएपछि सर्वोच्चले जारी गर्‍यो कारण देखाऊ आदेश

काठमाडौँ – सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रिया रद्द गर्ने निर्णयविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ।

न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले आज रिटमाथि सुनुवाइ गर्दै असार २१ गते दुवै पक्षलाई छलफलका लागि समेत बोलाएको अदालतका प्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए।

अध्यक्ष नियुक्तिका लागि सर्टलिस्टमा परेका पाँच जनामध्ये तीन जना अन्तर्वार्तामा अनुपस्थित भएको भन्दै अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले उक्त प्रक्रिया नै रद्द गर्ने निर्णय गरेको थियो।

सोही नियुक्तिका लागि सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठले प्रक्रिया रद्द गर्ने समितिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

सरकारले उक्त प्रक्रिया रद्द गरी पुरानै सदस्यहरु रहने गरी अध्यक्ष नियुक्तिका लागि नयाँ समिति समेत गठन गरेको छ।