images
images

मेयर शाहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्नुको कुनै तुक नभएको: सांसद शंकर भण्डारी

काठमाडौँ – नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्नुको कुनै तुक नभएको टिप्पणी गरेका छन्। बिहीबार संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

उनले सबै जना एक भएर राष्ट्रको बारेमा भूमिका खेल्नुपर्नेमा जोड दिए। त्यस्तै, उनले नेपाल धर्मनिरपेक्ष हुनु देशहितको पक्षमा नभएको पनि बताए।

उनले भने, ‘शताब्दिऔँदेखि पश्चिमाहरु नेपालका विभिन्न भूभागमा बसेर हाम्रो सनातन संस्कार, संस्कृति र धर्मविरुद्धमा क्रियाशील थिए। शताब्दिऔँ अघिदेखिको उनीहरुको हरेक प्रकारको योजनालाई उनीहरुले अगाडि बढाउँदै आज नेपालको मूल संविधानमा पनि धर्म निरपेक्षता शब्दको व्यवस्था गर्न सफल भएका छन्। अर्थात् यो गलत छ। यो देशको समग्र हितको पक्षमा छैन। धर्म निरपेक्षता संविधानमा लेख्दैमा आम जनताले के पाए? हिन्दु राष्ट्र हुँदा आफ्नो पहिचान हुन्छ। पहिचान सबभन्दा ठूलो कुरा हो।

बालेनजीले त्यो गर्नु आफैमा एउटा उहाँको वैयक्तिक सोच हो। त्यसले सिंगो राष्ट्रियतालाई टेवा पुर्‍याइरहेको छैन। त्यसले एउटा संकेत के गरिरहेको छ जनप्रतिनिधिहरुलाई भने, जनप्रतिनिधिहरु राष्ट्रका लागि गम्भीर बन है भनेर संकेत गरेको हुनसक्छ। उहाँले ग्रेटर नेपालको नक्सा राख्नु र उहाँको चर्चा, परिचर्चा हुनु त्यसको खासै तुक छैन। जबसम्म हामी एक भएर राष्ट्रको बारेमा भूमिका खेल्दैनौँ।’