images

संसद्को कामलाई व्यवस्थित र पारदर्शी बनाउन सहयोग गर्छु : प्रतिनिधिसभा सचिव अधिकारी

काठमाडौँ, १९ असारः प्रतिनिधिसभाका नवनियुक्त सचिव सुरेश अधिकारीले आज सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको सिफारिसमा पूर्वसचिव अधिकारीलाई मङ्गलबार उक्त पदमा नियुक्त गर्नुभएको हो । त्यस अवसरमा संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयलगायत अधिकारीहरूको उपस्थिति थियो ।

उनले आफ्नो काम सभामुखको काममा सहयोग गर्ने भएको भन्दै सभामुखलाई सहयोग गरेर अघि बढ्ने बताए। उनले संसद्को काम, कारबाही पारदर्शी बनाउन पनि आफ्नो सहयोग र भूमिका रहने बताए।

अधिकारीले भने, ‘मेरो मुख्य भूमिका भनेको प्रतिनिधिसभाको काम व्यवस्थित गर्न सघाउ पुर्‍याउनु हो। सभामुखलाई सहयोग गर्ने, संसद्का काम, कारबाही व्यवस्थित गर्नु, पारदर्शी बनाउन मेरो सहयोग र भूमिका रहनेछ।’

सचिव अधिकारीले बुधबार सभामुख देवराज घिमिरेबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्। उनलाई सभामुखको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलवार प्रतिनिधिसभा सचिव नियुक्त गरेका हुन्। सचिव अधिकारी कोशी प्रदेश, संखुवासभा जिल्ला खाँदबारी नगरपालिका वडा नं. २ स्थायी निवासी हुन्।