उत्तर प्रदेश । भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ हाथरस पुगेका छन् । मङ्गलवार यहाँ आयोजित एउटा सत्संगमा भागदौड हुँदा १२१ जनाको मृत्यु भएको थियो । सो घटनामा कयौँ बेपत्ता भएका छन् ।
योगीले हाथरसको सरकारी अस्पतालमा भर्ना भएका घाइतेलाई भेटेका छन् । उनले हाथरस प्रहरीसँग बैठक गर्दै स्थितिको समीक्षा पनि गरे । भागदौड नारायण साकार उर्फ भोले बाबाको सत्संगमा भएको हो । सत्संग अलिगढलाई एटासँग जोड्ने राष्ट्रिय राजमार्ग ३४ मा रहेको सिकन्दरराव शहरबाट करिब चार किलोमिटर टाढा फुलराई गाउँमा आयोजना गरिएको थियो ।
सत्संगका लागि अनुमति माग्ने क्रममा आयोजकहरूले प्रशासनलाई करिब ८० हजार मानिस सहभागी हुने बताएका थिए । तर यहाँ आउनेको सङ्ख्या एक लाखदेखि डेढ लाख रहेको अनुमान गरिएको छ ।
प्रत्यक्षदर्शी तथा भक्तजनका अनुसार सत्संग सकिएपछि यहाँ आएका भक्तजनहरूबिच बाबाको चरणको धुलो लिन प्रतिस्पर्धा चल्दा भाग दौड भएको थियो । मुख्यमन्त्री योगीले मृतकका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार आर्थिक सहायताको घोषणा गरेका छन् ।