images

पार्टीमा भए गरेका गल्तीको भार सभापति लामिछाने ले आफूमाथि थोपरेको महामन्त्री ढकालको आरोप

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टीमा भएगरेका गल्तीको भार सभापति रवि लामिछानेले आफूमाथि थोपरेको आरोप लगाएका छन्। उनले बैठकका क्रममा आफूमाथि ह्रयारेसमेन्ट भएको बताएका छन्।

 

आफूमाथि ह्यारेसमेन्ट भएपछि बैठक छाडेर निस्केको उनले बताएका छन्। पार्टी केन्द्रीय समितिको बैठकमा महामन्त्री ढकालले केही दिनपहिले सभापति लामिछानेलाई बुझाएको प्रतिवेदनमाथि छलफल भएको थियो। त्यस क्रममा महामन्त्री ढकालको चर्को आलोचना भएको छ।

‘पार्टी महामन्त्रीलाई सबै दोष थुपार्दै गर्दाखेरि सभापतिको नैतिक उत्तर के हुन्छ ?’ ढकालले संवाददाताहरूसँग भने, ‘गोर्खा मिडिया नेटवर्कमा महामन्त्रीको पोजिसनमा हुनुहुन्थ्यो रवि लामिछाने,  त्यहाँ चाहिँ अध्यक्ष जिबी राईको गल्ती ? निर्णय सबै थाहा हुन्छ र पार्टी सभापति हुनुहुन्छ अनि महामन्त्रीको गल्ती ? उहाँ जुन पदमा हुनुहुन्छ त्यो पदले कहिले गल्ती गर्दैन भन्ने हुन्छ ?’

उपसभापतिहरू डीपी अर्याल र स्वर्णिम वाग्लेले बैठकमै महामन्त्रीमा आफूलाई नमान्ने घोषणा गरेको भन्दै ढकालले आपत्ति जनाए। ‘एउटा राजनीतिक प्राणीको रूपमा बैठक लाइभ नगरेको अवस्थामा म बोल्दिनँ भनिसकेको थिए तर बोल् बोल् भन्ने?’ उनले रिसाउँदै भने।

‘एउटा व्यक्तिले विरोध गर्‍यो, त्यसलाई कारबाहीको प्रक्रिया अगाडि बढाइन्छ भने रास्वपा अब प्रतिपक्ष बन्दैछ, कुन नैतिकताको आधारमा सरकारको विरोध गर्छ ? कुन नैतिकताको आधारमा प्रतिपक्षमा बस्छ ?’ उनले रास्वपा नेतृत्वमाथि प्रश्न उठाए।

उनले ‘लाइ डिटेक्सन टेस्ट’ गर्न पनि रास्वपा नेतृत्वसँग माग गरे।