images

मधेस प्रदेश: बजेटमाथिको छलफल शुक्रबारदेखि, शनिबार विश्वासको मत लिँदै मुख्यमन्त्री सिंह

जनकपुरधाम- मधेस प्रदेशको बजेट आएको झण्डै तीन सातापछि बजेटमाथि छलफल सुरु हुन लागेको छ ।

मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको सरकारले ल्याएको बजेटमाथि शुक्रबारदेखि छलफल सुरु हुन लागेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

मधेस प्रदेशको प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै पूर्व निर्धारित कार्यसूची बमोजिम शुक्रबार बिहानको ११ बजे बस्ने प्रदेश सभाको बैठकमा आर्थिक वर्ष २०८१।०८२ को बजेट बक्तव्यमा छलफल हुने जनाएको छ ।

यस्तै, शनिबार बिहान ११ वजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री सिंहले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिने प्रदेशसभा सचिवालयले जनाएको छ ।

मधेस प्रदेशका तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभाबाट बहुमत प्राप्त गर्ननसकेपछि जनमत पार्टीका सांसद सिंह ५५ जबा प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले गत जेठ २५ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

सिंहलाई नेकपा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादी पार्टीका गरी ५५ जना प्रदेशसभा सदस्यले समर्थन गरेका थिए । तर, अहिले उनले विश्वासको मत लिनु अघिनै गठबन्धन दल फेरिएकाले विश्वासको मत पाउनेमा शंका उत्पन्न भएको छ ।

हालसम्म नयाँ गठबन्धनमा कांग्रेस र एमाले मात्र रहेको छ । अन्य प्रदेशमा यी दुई दलसँग स्पष्ट बहुमत रहेपनि मधेस प्रदेशमा सरकार बनाउन आवश्यक सांसद छैनन् ।