बेलायतमा तल्लो सदनको ६५० सिटका लागि मतदान हुँदै

एजेन्सी- बेलायतमा आज आम निर्वाचनका लागि मतदान हुँदैछ । ‘हाउस अफ कमन्स’ अर्थात् तल्लो सदनको ६ सय ५० सिटका लागि आज मतदान हुन लागेको हो । स्थानीय समयअनुसार मतदान बिहान ७ बजेबाट सुरु भएर राति १० बजेसम्म जारी रहने छ ।

मतदान सकिएलगत्तै मतगणना हुने र शुक्रबार बिहानसम्म अधिंकाश मतपरिणाम सार्वजनिक हुने जनाइएको छ । यस पटकको चुनावमा सत्तारुढ कन्जरभेटिभ पार्टी र लेबर पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । कन्जरभेटिभ पार्टीको नेतृत्व ऋषि सुनकले गरेका छन् भने लेबर पार्टीको नेतृत्व किर स्टर्मरले गरेका छन् । चुनाव हुनुअघि भएको सर्वेक्षणहरुले लेबर पार्टीले बहुमत ल्याउने दाबी गरिरहेका छन् भने १४ वर्षपछि सत्तारुढ कन्जरभेटिभ पार्टीले चुनावमा विपक्षी लेबर पार्टीसँग पराजय भोग्न सक्ने अनुमान गरिएको छ ।

बेलायती प्रधानमन्त्री सुनकले गत मे महिनामा समय अगावै आम निर्वाचनको मिति घोषणा गरेका थिए । नोभेम्बरमा हुने भनिएको आम निर्वाचन ४ जुलाईमा घोषणा गरिएको हो।