काठमाडौँ, २० असार : नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको सहमतिलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले समर्थन गर्ने भएको छ ।
सो पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले परिवर्तित राजनीतिक घटनाक्रम अनुसार पार्टीले नयाँ ढङ्गले अगाडि बढ्ने निर्णय गरेको बताउनुभयो । यद्यपि, पार्टीको पदाधिकारी बैठकले समर्थन फिर्ता लिने निर्णय गर्ने उहाँले बताउनुभयो । तर, सो पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले भने सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे पार्टीको आधिकारिक धारणा बनिनसकेको राससलाई जानकारी दिनुभयो । पार्टीले विकसित राजनीतिक परिस्थितिमा कसरी अगाडि बढ्ने भन्नेबारे बैठक बसेर निर्णय गर्ने उहाँले बताउनुभयो । मन्त्री यादवले भन्नुभयो, “पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन, बैठक बसेर आवश्यक निर्णय हुन्छ ।”
यसअघि आज बिहान पार्टीका महासचिव राईले रासससँगको कुराकानीमा वर्तमान सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरूलाई आजै राजीनामा दिन निर्देशन दिइने बताउनुभएको थियो । उहाँले प्रतिनिधिसभाका ठूला दुई दलबीच भएको सहमतिलाई जसपाले समर्थन गर्ने बताउनुभयो । सोही जिज्ञासामा भर्खरै महासचिव राईले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने धारणा बनाएको र त्यसमा साँझसम्म पदाधिकारी बैठक बसेर निर्णय लिने बताउनुभयो ।