images

संविधान संशोधन अग्रगमनका लागि हो पश्चगमनका लागि होइन: रमेश लेखक

काठमाडौँ – नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधान संशोधन पश्चगमनका लागि नभई अग्रगमनका लागि हुने बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ठगी गर्नेहरुलाई संरक्षण गर्न सरकारका मुख्य निकायहरु खटाएर दुरुपयोग गरिएको बताए।

सहकारी रकम अपचलनपछिको परिस्थितीबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै संविधान संशोधन गर्दैमा पश्चगमन नहुने बताए।

‘अहिले हामीले नयाँ प्रयोग गरेका छौं। राजनीतिक स्थिरताको होस् भनेर हामी अघि बढेका छौं। संविधानको समीक्षा गरेर समसामयिक संशोधन गर्न लागेका छौ’ उनले माओवादीलाई लक्षित गर्दै भने, ‘तर कतिपय कमरेडहरुले पश्चगन भन्नुहुन्छ। हामीले अग्रगमनका लागि संविधान संशोधन गर्न लागेका हौं। हामीले संविधान संशोधन गर्ने भनेको संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशीको मुद्दालाई थप सुुदृण गर्नको लागि हो। पछाडि फर्किने होइन।’

उनले भने, ‘संविधानको उचित समीक्षा गरेर यो संविधानको अभ्यासमा देखिएका जटिलताहरु, यसका सबल र दुर्बल पक्षहरुको समीक्षा गरेर संविधानको पनि समसामुहिक संशोधन हुन सकोस्। संविधानको समसामुहिक संशोधन भन्दा कतिपय कमरेडहरुलाई पश्चगमन लाग्छ। यो पश्चगमन होइन है। अग्रगमनका लागि गर्ने हो। हामीले संविधानको संशोधन गर्ने भनेको संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशिताको मुद्दालाई थप सुदृढ गर्न, थप उन्नत बनाउनका लागि हो। थप व्यवस्थित गर्नका लागि हो।’

उनले एउटा सरकारको कुरा गर्दा गर्दै सिंहदरबारमा अर्को सरकार बन्ने खतरा भइरहेको उल्लेख गरे। उनले सहकारीमा संलग्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई जोगाउन राज्यका संयन्त्रहरुको दुरुपयोग भएको दाबी गरे।