images

रास्वपाका मन्त्रीहरूलाई बर्तौलाको प्रश्न : गोजीमा भएको राजीनामा कहाँ पुग्यो ?

काठमाडौँ- नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीको गोजीमा भएको राजीनामा कहाँ पुग्यो भनी प्रश्न गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले सरकार बहुमतमा हुँदा गोजीमा राजीनामा बोकेर हिँडेका मन्त्रीहरूले सरकार अल्पमतमा हुँदा पनि राजीनामा नदिएको बताए  ।

उनले गोजीमा भएको राजीनामा कहाँ पुग्यो भनी प्रश्न गरे । उनले दलबाट राजीनामा दिने निर्णय गरिसकेर पनि प्रधानमन्त्रीले कानमा गाउँ खाने कथा सुनाएपछि राजीनामा खुत्रेकामा हालेको टिप्पणी गरे । उनले मन्त्रीहरूलाई आफू पदमा बसुन्जेल कुन–कुन फाइल खोल्नुपर्ने हो खोल्नका लागि चुनौतीसमेत दिए ।

बर्तौलाले के भने ?

‘प्रधानमन्त्रीज्यू आज पनि कुर्सीमा आसिन हुनुहुन्छ । केही मन्त्रीज्युहरु हुनुहुन्छ । हिजो सरकार बहुमतमा थियो । सरकार चलिरहेको थियो । केही राजनीतिक पार्टीका मन्त्रीहरु सरकार बहुमतमा भएको बेलामा, सरकार चलिरहेको बेलामा गोजिमा राजीनामा हालेर, बोकेर हिँड्नुहुन्थ्यो । तर सरकार स्पष्ट अल्पमतमा परेको छ, ती साथीहरूको गोजीमा भएको राजीनामा कहाँ पुग्यो ? हामीले सुन्यौँ दलबाट निर्णय भयो राजीनामा दिने, सरकारबाट फिर्ता हुने । प्रधानमन्त्रीले कानेखुसीमा गाउँ खाने कथा भनिदिनुभयो । त्यसपछि राजीनामा खुत्रुकेमा जतनसाथ राखेर साथीहरू फर्किनुभएको छ । मन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ । कुन फाइल कसरी खोल्नुपर्ने हो ? यो सदनमा हामी माग गर्न चाहन्छौँ, जतिदिन तपाईंहरू पदमा रहनुहुन्छ, खोल्नुहोस् । माग गर्न चाहान्छु कुन–कुन फाइल कसरी खोल्नुपर्ने हो ? तपाईंहरूले धम्की मात्रै दिएर पुग्छ ? यो संसद्को हार्डडिस्कमा मात्रै सुरक्षित छैन । हाम्रा दिमागमा पनि सुरक्षित छ । तपाईले आज खोल्छु भनेका फाइल किन खोल्नुभएन ? भोलि राष्ट्रिय सरकार बनेपछि ती सूचना तपाईंले दिनुपर्छ ।’