images

राष्ट्र बैंकले आयात प्रतिबन्धको नीति करेक्सन गर्नुपर्छः विनोद चौधरी

काठमाडौँ – नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले कोभिडपछि राष्ट्र बैंकले लिएको आयात प्रतिबन्धको नीति आगामी मौद्रिक नीतिमार्फत करेक्सन गर्न आवश्यक रहेको बताएका छन्।

सोमबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा बोल्दै सांसद चौधरीले मुलुकको बाह्य अर्थतन्त्र कमजोर बन्दै गएको अवस्थामा नियन्त्रण गर्नको लागि आयातमा राष्ट्र बैंकले लगाएको नीतिमा परिमार्जन गर्न ठीक समय आएको बताएका हुन्।

उनले उक्त नीतिको कारण मुलुकको आयात नबढ्दा राजश्वलगायत क्षेत्रमा असर परेको उल्लेख गरे। उनले अर्थतन्त्रको बाह्य क्षेत्रमा परेको असर कम गर्न अन्य देशले गर्न नसकेको काम राष्ट्र बैंकले गरे पनि समयअनुसार करेक्सन गर्न नसकेको बताए।

उक्त नीतिको कारण राजश्व १० अर्बबाट निरन्तर ओरालो लागेको उनको भनाइ थियो। उनले यसले गर्दा अप्रत्यासित रुपमा सरकारको आन्तरिक ऋणसमेत बढ्दै गएको उल्लेख गरे।

उनले बैंकको कर्जा सबै अनुत्पादन क्षेत्रमा लगानी हुँदा रोजगारी सिर्जनासमेत हुन नसकेको बताए। उनले पछिल्लो समय साना तथा घरेलु उद्योगहरु सबैभन्दा बढी प्रभावित र विस्थापित भएको उल्लेख गरे।