अभिनयमा फर्किंदै तीन अभिनेत्री

काठमाडौँ -केही समय नेपाली चलचित्रबाट टाढा रहेका अभिनेत्रीहरू पुनः चलचित्र र टेली शृङ्खलाको माध्यमबाट पर्दामा फर्किंदैछन् । अरुणिमा लम्साल, विपना थापा, रेजिना उप्रेतीलगायत अभिनेत्रीहरू एक दशकपछि यस वर्ष पर्दामा देखिँदैछन् । कुनै समय यी अभिनेत्रीले धेरै नेपाली चलचित्रमा अभिनय गरेका थिए ।

पछिल्लो समय एक दशकअगाडि ‘वरदान’ नामक चलचित्रमा देखिनुभएकी अभिनेत्री उप्रेतीले हालै ‘मोदिबेनी’ नामक चलचित्रमा अभिनय गरेका छन् ।

यसपटक उनले मुख्य भूमिकामा अभिनय गरेकी छन् । विशेषतः डिजिटल प्रविधिमा चलचित्र बन्ने क्रम बढ्नाका साथै कथ्य शैलीमा परिवर्तन आएपछि उहाँ चलचित्रबाट टाढा रहेका थिए ।

अभिनेत्री उप्रेतीजस्तै एक दशकपछि पर्दामा देखिँदै  छिन्, अभिनेत्री लम्साल । पछिल्लो समय अमेरिकामा बसोबास गर्नु हुने अभिनेत्री लम्साल ‘घरः बट इन अमेरिका’ नामक वेब शृङ्खलामार्फत अभिनयमा ‘कमब्याक’ गर्दैछन् । उनले छायाङ्कन गर्न तयार गरिएको ‘सेट’ मा फर्किदा महसुश भएको अनुभवलाई शब्दमा व्यक्त गर्न नसकिने बताइन् ।

“अभिनयमा फर्किंदा नर्भस र उत्साहित छु । पहिलोपटक काम गरेजस्तो लागिरहेको छ । अहिलेको प्रस्तुतीकरण र कथ्य शैली फेरिएको कारण म त्यहीअनुरूप काम गरिरहेकी छु”, अभिनेत्री लम्सालले भनिन्, “मैले अभिनय छाडेकी होइन तर अमेरिकामा बसोबास गर्ने भएकाले निरन्तरता दिन नसकेकी हुँ ।” अब भने अभिनयलाई निरन्तरता दिने उनले बताइन् । यो शृङ्खला यसै वर्ष डिजिटल प्लेटफर्ममार्फत प्रदर्शन गरिनेछ ।

यसै वर्ष प्रदर्शन हुने चलचित्र ‘ह्रस्व दीर्घ’ मार्फत अभिनेत्री थापा झन्डै चौध वर्षपछि अभिनयमा फर्किएकी छन् । “पारिवारिक कारणले गर्दा लामो समय यस क्षेत्रबाट टाढा भएँ । छोरा हुर्किएपछि काममा फर्किएकी हुँ । यसपटक काम गर्दा पहिलो चलचित्र झैँ अनुभव गरेँ । छायाङ्कनको अनुभवलाई शब्दमा व्यक्त गर्न सक्दिन”, अभिनेत्री थापाले भनिन् ।

अभिनेत्री निरुता सिंहले पनि चलचित्र ‘दाल भात तरकारी’ मार्फत अभिनयमा पुनरागमन गरेकी थिइन् । यद्यपि उनी पनि अभिनेत्री थापा झैँ भारतमा बसोबास गर्ने भएकाले त्यसपछि अभिनयलाई निरन्तरता दिन सकेकी छैनन् ।

यी अभिनेत्रीहरू अभिनयमा ‘कमब्याक’ त गरे तर निरन्तरता दिन्छन् वा हुँदैन भन्ने प्रश्नको जवाफ उनीहरूसँग पनि छैन । यसैगरी कुनैबेला धेरै नेपाली दर्शकले रुचाएझैँ फेरि त्यही अवस्था रहन्छ वा रहन्न भन्ने प्रश्न पनि अनुत्तरित नै छ ।