images

गठबन्धन परिवर्तन गरिरहने प्रवृत्तिले देशलाई ठिक बाटोमा लगेनः सांसद महत

काठमाडौँ -नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले देशका समस्याहरू सम्बोधनका लागि कांग्रेस र नेकपा (एमाले) एक भएको बताएको छन् । मङ्गलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उनले यस्तो बताएको हो ।

‘‘गठबन्धन परिवर्तन गरिरहने, कहिले एउटा दल, कहिले अर्को दलको प्रवृत्तिले देशलाई ठिक बाटोमा लगेन । आम जनतालाई पनि विश्वास दिन सकेन । कुरा धेरै भए, काम उल्टो भयो । त्यो परिवेशमा देशका जल्दोबल्दो समस्या समाधान गर्ने हो भने दुई ठुला दल बाँकी समयमा स्थिर सरकार बनाउन हामी लागेका हौँ । बाँकी समयलाई स्थिरतातर्फ लैजान, संविधानमा रहेका समस्या, खासगरी निर्वाचन पद्धति, समावेशिता, समानुपातिकतालाई सुनिश्चित गर्दै निर्वाचन पद्धतिलाई संशोधन गर्न सकिन्छ ।,’’ सांसद महतले भन्नुभयो, ‘‘त्यसले अस्थिरताका बिन्दुलाई कम गर्न सकिन्छ भनेर हामी एक ठाउँमा आएका हौँ । हाम्रो देशमा सबैलाई जिम्मेवारी दिऊँ भन्ने मानसिकता छ । यद्यपि त्यसमा अनुभव र क्षमतालाई पनि त्यत्तिकै महत्त्व दिनुपर्छ ।

सबैकुरालाई ध्यानमा राखेर सभापतिज्यूले निर्णय लिनुहुनेछ ।’’ उनले सबैलाई मान्य हुनेगरी मन्त्रालयको बाँडफाँट हुने बताए।