images

अर्थतन्त्र बचाउने गरी मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारको आर्थिक अवस्था कमजोर रहेको बताएका छन् ।

मंगलबार नेपाल राष्ट्र बैंकसँग महासंघले आयोजना गरेको मौद्रिक नीतिबारेको छलफलमा बोल्दै गभर्नर अधिकारीले अर्थतन्त्रका धेरै पक्ष बलियो भए पनि सरकारको आर्थिक पक्ष कमजोर भएको उल्लेख गरे ।

उनले कोभिडको बेलामा राष्ट्र बैंकले दिएको सुविधाले व्यवसाय बाचेको उल्लेख गरे । त्यतिबेला राष्ट्र बैंकले सुविधा नदिएको भए व्यवसाय र अर्थतन्त्र दुवै बाच्ने अवस्था नभएको उनको भनाइ थियो ।

राष्ट्र बैंकले अर्थतन्त्रको वर्तमान अवस्थालाई हेरेर उचित मौद्रिक नीति ल्याउने बताए । घरजग्गा कारोबार, साना तथा घरेलु उद्यम र निर्माण क्षेत्रमा दबाब रहेको भन्दै राष्ट्र बैंक मौद्रिक नीतिमार्फत क्षेत्रगत रूपमा दिनसक्ने सहजता अपनाउने उल्लेख गरे ।

“घरजग्गा कारोबार, साना तथा घरेलु उद्यमहरुमा दबाब र निर्माण क्षेत्रमा दबाब छ । निर्माण क्षेत्र कमजोर भएको कारणले निर्माणसँग सम्बन्धित अन्य क्षेत्रहरूमा दबाब छ । राष्ट्र बैंक मौद्रिक नीतिमार्फत कुनलाई कस्तो सुविधा दिनसक्ने गरी नीति तर्जुमा गर्छौं । व्यवसायीहरुले सोचेका सबै कुराहरू गर्न सक्दैन । कर्जामा नेपाल राष्ट्र बैंकले रोकेको छ भन्नेकुरा छ । राष्ट्र बैंकले बाँधेको छ भन्ने छ । राष्ट्र बैंकले बाँधेको डोरी देखाउनुपर्छ हामी बाँधेको डोरी फुकाइदिन्छौँ,” उनले भने ।

उनले पछिल्लो समय सबैले नेपाल राष्ट्र बैंकले कर्जा विस्तारलगायत अन्य विषयमा बाँधेर राख्यो भन्ने आरोप लागेको भन्दै आरोपको खण्डन गरे ।