कोरिया रिटर्नीहरुलाई पुन:कोरिया जान आवेदन आह्वान

काठमाडौँ -वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएर फर्किएका कामदारहरू पुनः जान पाउने भएका छन् । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत पुनः कोरियामा रोजगारीका लागि जान पाउने भएका हुन् ।

वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले सूचना प्रकाशित गरेर कोरिया गएर फर्केका कामदारहरूलाई पुनः कामदारको रूपमा पठाउनको लागि आवेदन आह्वान गरेको हो ।

ईपीएस मार्फत कोरिया गएको र सन् २०१० जनवरी १ पछि भिसा अवधि भित्रै स्वैच्छिक रूपमा नेपाल फर्केकाहरुले मात्रै आवेदन दिन पाउने ईपीएस कोरिया शाखाले जनाएको छ । त्यस्ता कामदारले कोरियाको उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा जान पाउनेछन् ।

उत्पादनमूलक क्षेत्रमा फारम भर्न चाहनेहरूले फारममा उल्लेख भएका ८ वटा समूहमध्ये जुन उपसमूहमा फारम भर्ने हो सोही उपसमूहसँग सम्बन्धित ८ वटा प्रश्नको उत्तर दिनुपर्नेछ ।

ईपीएस शाखाले सार्वजनिक गरेको सूचना अनुसार यहि साउन ७ देखि ११ गतेसम्म आवेदन दिन सकिनेछ । परीक्षा असोज ८ गतेदेखि ११ गतेसम्म हुनेछ । परीक्षा तालिका भने भदौ २८ गते मात्रै सार्वजनिक गरिनेछ । परीक्षाको नतिजा भने असोज २१ गते प्रकाशन गरिने ईपीएस शाखाले जनाएको छ ।

नेपालले दक्षिण कोरियासँग गरेको समझदारी पत्र (एमओयू) अनुरूप ईपीएस मार्फत वैधानिक तवरबाट कामदार पठाउँदै आएको छ ।