images
images

रायमाझी र खाँणसहित ८ जना भद्रबन्दी गृह र ८ लाई केन्द्रीय कारागारमा राखियो ( पुर्ण पाठ सहित )

काठमाडौँ । जिल्ला अदालत काठमाडौँको आदेशपछि पुर्पक्षका लागि थुनामा पठाइएका १६ अभियुक्तलाई केन्द्रीय कारागारका दुई छुट्टाछुट्टै भवनमा राखिएको छ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने अपराधका दुई पूर्व मन्त्रीसहित १६ अभियुक्तमध्ये ८ जनालाई भद्रबन्दी गृह र अन्यलाई केन्द्रीय कारागार भवनमा राखिएको छ ।

केन्द्रीय कारागारका जेलर ललितकुमार बस्नेतका अनुसार पूर्वमन्त्रीद्वय टोपबहादुर रायमाझी र बालकृष्ण खाँणसहित नरेन्द्र केसी, गोविन्द चौधरी, रामशरण केसी, समसेर मियाँ, सन्दीप रायमाझी र आङटावा शेर्पालाई भन्द्रबन्दी गृहमा राखिएको छ ।

त्यस्तै नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, हरिभक्त महर्जन र सागर थुलुङ राईलाई केन्द्रीय कारागारको भवनमा राखिएको हो ।

शुक्रबार जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पक्राउ परेका १८ अभियुक्तमध्ये टङ्क गुरुङ र लक्ष्मी महर्जनलाई धरौटीमा छाड्न र बाँकी १६ जनालाई मुद्दाको किनारा नलागेसम्म थुनामा पठाउन आदेश दिएको थियो । लगत्तै उनीहरूलाई कारागार पठाइएको हो । यो प्रकरणका अन्य १२ अभियुक्त फरार छन् ।

रायमाझी र खाँणसहित १६ जनालाई पुर्पक्षमा कारागार पठाउन आदेश, दुई धरौटीमा रिहा

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका १६ अभियुक्तलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि कारागार पठाउन जिल्ला अदालतले आदेश दिएको छ ।

अभियुक्तमध्ये लक्ष्मी महर्जनलाई ५ लाख र टङ्क गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न र बाँकीलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिइएको हो । यो मुद्दामा १२ जना भने अझै फरार छन् ।

जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले शुक्रबार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाँण तथा बहालवाला सचिव (निलम्बित) सहित १६ अभियुक्तलाई कारागारमै राखेर मुद्दा किनारा लगाउने गरी आदेश दिएको हो ।

यो आदेशसँगै पक्राउ परेका १६ अभियुक्तहरू अब न्यायिक हिरासतबाट कारागार चलान हुनेछन् ।

अनुसन्धानका क्रममा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँसहित १६ र मुद्दा दायर भएपछि नियन्त्रणमा लिइएका २ जना हाल न्यायिक हिरासतमा छन् भने यो कसुरमा अरू १२ जना फरार छन् ।

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ र फरार १४ गरी ३० जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले ठगी, सङ्गठित अपराध, किर्ते र राज्यविरुद्धको अपराध कसुरमा कैद‚ बिगो र जरिवाना मागदाबीसहित जेठ १० मा मुद्दा दायर गरेको थियो ।

२०७९ चैत १२ मा गिरोहका नाइके केशव दुलाल‚ सानु भण्डारी र टङ्क गुरुङलाई पक्राउ गरेपछि प्रहरीले अदालतबाट म्याद थप गरेर अघि बढाएको अनुसन्धानका क्रममा पूर्वउपप्रधानमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहित १६ जना पक्राउ परेका थिए ।