काठमाडौँ – इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार (केयर गिभर) का लागि आवेदन दिने म्याद थप गरिएको छ । वैदेशिक रोजगार विभागले २०८१ साउन ११ गतेसम्म आवेदन दिने गरी म्याद थप गरेको हो । यसअघि साउन १ गतेसम्म आवेदन दिन आह्वान गरेको थियो ।
विभागले असार ११ गते सूचना जारी गर्दै आवेदन माग गरेको थियो । इजरायलले ८०० जना केयर गिभर माग गरेको थियो । सोही आधारमा विभागले सूचना जारी गरेको थियो ।
इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा बच्चा, युवा तथा ६५ वर्ष ननाघेका गम्भीर अपाङ्गता भएका व्यक्तिका लागि स्याहार गर्न केयर गिभर माग गरेको थियो ।
केयर गिभरका लागि यो पटक ब्रिटिस काउन्सिलबाट कम्तीमा ए२ तहको अङ्ग्रेजी भाषा परीक्षा पास गरेको प्रमाणपत्र अनिवार्य गरिएको छ । यसअघि भने जुनसुकै निकायबाट अङ्ग्रेजी भाषा परीक्षा पास भएको प्रमाणपत्र पेस गरेको खण्डमा समेत मान्य हुँदै आएको थियो ।