जनकपुरधाम – मधेस सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ।
बजेटमा चालुतर्फ १८ अर्ब २१ करोड ७६ लाख १४ हजार अर्थात ४१.३० प्रतिशत र पुँजीगततर्फ २५ अर्ब ६९ करोड ७० लाख १८ हजार अर्थात् ५८.२५ प्रतिशत बजेट विनियोजन गरिएको छ।
यस्तै, वित्तिय व्यवस्थापनतर्फ २० करोड अर्थात ०.४५ प्रतिशत बजेट विनियोजन गरिएको छ।
शुक्रबार मधेस प्रदेशसभामा अर्थमन्त्री सञ्जयकुमार यादवले गत वर्षभन्दा करिब २ अर्ब कमको बजेट प्रस्तुत गरेका हुन्।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतको राजश्वबाट ४ अर्ब ३७ करोड ८१ लाख २ हजार, नेपाल सरकारबाट राजश्व बाँडफाँडबापत प्राप्त ११ अर्ब ३८ करोड १९ लाख र समानीकरणबापत प्राप्त अनुदान ७ अर्ब ४१ करोड ५० लाख हुने अनुमान छ।
यस्तै, चालु आर्थिक वर्षको विनियोजनबाट बचत हुने नगद मौज्दात रु १२ अर्ब ९० करोड ११ लाख, विशेष अनुदान ४९ करोड, समपूरक अनुदान ९८ करोड, संघीय सरकारबाट ससर्त योजनाका लागि प्राप्त अनुदान रु ४ अर्ब ५६ करोड ८५ लाख गरी ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार रहेको छ।
‘एक टोल एक सामूहिक कृषि उत्पादन’, ‘एक वडा एक विशेष उत्पादन’ र ‘एक पालिका एक उत्पादन क्षेत्र’ कार्यक्रम नमूनाको रुपमा प्रत्येक जिल्लालाई समेटने गरी सञ्चालन गर्नको लागि १० करोड, कृषि प्रणालीलाई आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न रु. २५ करोड, किसानलाई सरल सहज रुपमा उन्नत जातको बिउ बिजन, मल उपलब्ध गराउन, कृषि तथा पशु बीमा, उत्पादन संकलन केन्द्र निर्माण, प्रशोधन भण्डारण र बिक्री व्यवस्थापनको लागि रु २० करोड विनियोजन गरिएको छ।
यस्तै, मुख्यमन्त्री किसान उत्थान कार्यक्रमअन्तर्गत कृषि, दुग्घ, मासु, कम तौल तथा उच्च मूल्य भएका उत्पादन प्रवर्द्धनका लागि १५ करोड, ‘हरेक खेतमा पानी किसानको आम्दानी’ अभियानलाई साकार पार्न कृषि विद्युतीकरणलाई प्रदेश गौरवको परियोजनाको रुपमा विकास गर्दै कृषि विद्युतीकरणलाई विस्तार, निःशुल्क कृषि मिटर, सिंचाइ प्रयोजनका लागि लाग्ने विद्युत महसुलमा अनुदानसमेतको लागि ४० करोड रुपैयाँ विनियोजन गरिएको छ।










