images

प्रचण्ड सरकार ढलेलगत्तै ओलीलाई प्रधानमन्त्री नियुक्ति गर्न दुई तिहाइ सांसदको हस्ताक्षर राष्ट्रपतिलाई बुझाइँदै

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएलगत्तै नेपाली कांग्रेस र नेकपा एमालेले आजै नयाँ सरकार गठन प्रक्रिया सुरु गर्ने भएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाउने निश्चित रहेकाले संसदको प्रक्रिया सकिए लगत्तै एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई दुई तिहाइ भन्दा बढी सांसदहरूको समर्थन रहेको जानकारी राष्ट्रपतिलाई गराउने तयारी छ ।

संसदमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत नपाए लगत्तै नयाँ प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गर्दै कांग्रेससहित साना दलहरुले आजै राष्ट्रपतिलाई हस्ताक्षर बुझाउनेछन्।

एमालेका एक पदाधिकारीका अनुसार राष्ट्रपतिलाई आजै प्रधानमन्त्रीमा अध्यक्ष ओलीलाई नियुक्त गर्न माग गरिनेछ।  प्रधानमन्त्री पुष्पकमल  दाहाल प्रचण्डको पक्षमा ६३ मत मात्र रहेको छ। विपक्षमा २०७ मत रहेको छ।

नयाँ सरकार गठनको प्रक्रियालाई जटिल बनाउन प्रधानमन्त्रीले विश्वासको मत लिन लागेको बेला कांग्रेस र एमालेले धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसमक्ष आग्रह गर्न लागेका हुन्।

माओवादी केन्द्रले प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि धारा ७६ को उपधारा ३ को सरकार गठन हुने र देउवा प्रधानमन्त्री बन्ने जिकिर गरिरहेको छ ।