काठमाडौं : सरकारले रेड एड्भाइजरी (बाढी पहिरोको उच्च जोखिम) जारी भएका दिन र क्षेत्रमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाउने भएको छ।
गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा शुक्रबार गृहसचिवको नेतृत्वमा बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो।
‘जल तथा मौसम विज्ञान विभागबाट ‘रेड एड्भाइजरी’ जारी भएका जिल्ला र क्षेत्रहरूमा तत्तत् दिनमा रात्रिकालीन सवारी नचलाउने निर्णय भएको छ । यसको कार्यतालिका यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरूले मिलाउनेछन्।’ संसदमा बोल्दै गृहमन्त्री रवि लामिछानेले जानकारी दिए।
शुक्रबार बिहान नारायणगढ-मुग्लिन सडकमा आएको पहिरोले हुत्याउँदा दुईवटा यात्रु वाहक बस त्रिशुली नदीमा खसेर बेपत्ता भएपछि सरकारले यस्तो निर्णय गरेको हो।
छलफलका क्रममा रेड जोनमा रात्रिकालीन बस नचलाउने, अनिवार्य टिकट लगायतका बारेमा छलफल भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए।
छलफलमा विपद् व्यवस्थापनका लागि कोष बनाउने तथा सडक विभागले आफ्नो पूर्वाधार तयार गर्ने विषयबारे पनि चर्चा गरिएको छ। त्यसक्रममा गृहसचिव एकनारायण अर्यालले यात्रुलाई टिकट नकाटी यात्रा गराउने सवारीलाई मापसे गरी सवारी चलाएभन्दा कडा कारबाही गर्न निर्देशन दिएका छन्।


लाल्टिन खबर 






