images

प्रधानमन्त्रीलाई राप्रपा सचेतक शाहीको सुझाव-जातजातिलाई भड्काएर आफ्नो रोटी सेक्ने काम नहोस्

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जातजातिलाई फेरि भड्काएर आफ्नो रोटी सेक्ने काम नगर्न प्रधानमन्त्री पुष्पकमल दाहालाई चेतावनी दिएका छन्।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले दलितका छोराछोरी राजाका पालामा केही पनि थिएनन् भन्ने गलत भाष्य निर्माण नगर्न पनि आग्रह गरे।

उनले हिरालाल विश्वकर्मा राजाकै पालामा शिक्षामन्त्री बनेको बताए। उनले जातीय छुवाछुतविरुद्धको कानुन राजा महेन्द्रकै पालमा बनेको पनि उल्लेख गरे।

उनले राजनीति गर्न सबैलाई खुला रहेको भन्दै राजनीति गर्न तर जातीयताको नाममा द्वन्द्व नभड्काउन आग्रह गरे।

उनले भने, ‘चुनाव जितेर आउनुस्, हामी जस्ता अभियन्ता र टेलिभिजनमा कार्यक्रम चलाउनुभएका रवि लामिछानेजी आज गृहमन्त्री हुनुहुन्छ। तर जातजातिलाई फेरि भड्काएर फेरि आफ्नो रोटी सेक्ने काम यो संसदको रोष्टमबाट नहोस्। किनभने अत्ति भइसक्यो।’

प्रधानमन्त्रीले दलितको कुरा गरिरहँदा आफ्नो मन्त्रिपरिषदलाई फर्केर हेर्न उनले सुझाव दिए। प्रधानमन्त्रीको पार्टीमा दलित/जनजाति अध्यक्ष कहिले हुन्छन् भन्ने प्रश्न पनि गरे।