नयाँ सरकार गठनका लागि देउवा-ओलीले गरे हस्ताक्षर

काठमाडौं -नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनका लागि हस्ताक्षर गरेका छन् ।

गत असार १७ गते मध्यरातमा भएको सहमति कार्यान्वयनका लागि उनीहरूले हस्ताक्षर गरेका हुन् । त्यो रात कांग्रेस-एमालेबीच नयाँ सरकार गठन गर्ने सहमति बनेको थियो । सहमतिअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली नयाँ प्रधानमन्त्री बन्दैछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदमुक्त भएका छन् । शुक्रबार संसद्‌‌मा उनले विश्वासको मत पाएनन् । यससँगै अब नयाँ सरकार गठनको बाटो खुलेको छ । यसपछि कांग्रेस-एमालेले नयाँ सरकार गठनको तयारी थालेका हुन् ।

“एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनको लागि आवश्यक कागजातमा हस्ताक्षर गर्नुभएको छ,” एमाले सांसद सूर्य थापाले भने ।