images

कांग्रेसबाट पाँच मन्त्रीको नाम टुंगियो, अरु को–को छन् आकांक्षी ?

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारमा कांग्रेसबाट मन्त्री बन्ने पाँच जनाको नाम लगभग टुङ्गो लागेको छ । अहिलेसम्म प्रकाशमान सिंहसहित रमेश लेखक, आरजु राणा, जीवन परियार र अजय चौरासियाको मन्त्री बन्ने निश्चित भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष ओलीको नेतृत्वको सरकारमा मन्त्री पठाउने विषयमा आन्तरिक तीब्र बनाएका छन् । ओली भोलि प्रधानमन्त्री नियुक्त हुने भएपछि कांग्रेसले पार्टीका इतर पक्षका नेता डा. शेखर कोइराला, महामन्त्री गगन थापासहित पार्टीका शीर्ष नेताहरूसँग बेग्लाबेग्लै छलफल अगाडि बढाएका हुन् ।

देउवाले यसपछि पार्टीभित्र सन्तुलन मिलाएर विवाद नआउने गरी पार्टीबाट सरकारमा मन्त्री पठाउने तयारी गरेका छन् । पार्टीबाट मन्त्री बनाउन मापदण्ड बनाउनको लागि आजै केन्द्रीय कार्यसम्पादन समितिको बैठक राखेका हुन् । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति हुने उनले बताए ।

एमालेसँगको सहमति अनुसार कांग्रेसले बढीमा १० मन्त्रालय पाउने छ । अहिलेसम्म मन्त्री बन्ने निश्चित भएका परियार शेखर समूहका हुन् । अरु चार जना देउवा निकटकै हुन् । पाँच जनाको नाममा अनौपचारिक सहमति भए पनि थप मन्त्रीको विषयमा देउवाले छलफल गरिरहेका छन् । १४ औं महाधिवेशनबाट देउवा निकटमा रहेका शशांक कोइरालाले पनि एक जना मन्त्री भाग पाउने स्रोतले जनाएको छ ।

उनले संखुवासभाका दिपक खड्का र दाङका दिपक गिरीमध्ये एकलाई पठाउने तयारी गरेका छन् । तर, खड्काको सम्भावना बलियो रहेको स्रोतको दावी छ । यस्तै कर्णाली प्रदेशबाट मुगुका ऐनबहादुर शाही र सुर्खेतका हृदयराम थानीमध्ये एक जना मन्त्री बन्दैछन् । थामी शेखर समूहका हुन् तर, तर पूर्णबहादुर खड्का देउवा परिवारसँग दूरी बढ्दै गएपछि थानीले सम्बन्ध सम्बन्ध बढाएको चर्चा चलेको छ ।

यस्तै, कांग्रेसका पूराना नेता अर्जुननरसिंह केसी र रामनाथ अधिकारीबारे पनि छलफल भए पनि दुवै नहुन सक्ने स्रोत बताउँछ । ओली क्याबिनेटमा सहमहामन्त्री किशोर सिंह राठोर, विनोद चौधरी, उदय शमशेर राणा पनि मन्त्रीको दाबेदार थिए तर, देउवाले आफू प्रधानमन्त्री भएको बेलामा मन्त्री बनाउने भन्दै मनाउने प्रयास गरिरहेका छन् । एमालेसँगको सहमतिअनुसार ओलीपछि चुनावी सरकारको नेतृत्व देउवाले गर्नेछन् । यस्तै शेखर समूहका नेता चन्द्र भण्डरीले पनि मन्त्री बन्नका लागि देउवा र शेखरसँग कुरा गरिरहेको स्रोतको भनाइ छ । तर, अझै मन्त्री बन्ने नबन्ने सुनिश्चित भइनसकेको बताइन्छ ।

महामन्त्री गगन थापाले पनि आफ्नो कोटामा काठमाडौंबाट निर्वाचित प्रदीप पौडेललाई पठाउन देउवालाई दबाब दिइरहेका छन् । तर, पौडेलको नाममा देउवा सकारात्मक भइसकेका छैनन्। थापाले अझै पनि देउवालाई प्रदिपको पक्षमा मनाउने प्रयास भने छाडेका छैनन् । यसपटक सरकारमा मन्त्री पठाउँदा राष्ट्रपति रामचन्द्र पौडेलको कोटाबाट पनि एक जना मन्त्री बन्ने सम्भावना छ । राष्ट्रपति पौडेलले सप्तरीको तेजुलाल चौधरीलाई मन्त्री बनाउन देउवालाई आग्रह गरेका छन् । राष्ट्रपतिले आग्रह गरेपछि १० मन्त्री पाउने सहमति एमालेसँग भएपनि तेजुलालको नाम ११ औं नम्बरमा छलफल भइरहेको कांग्रेस स्रोतले बतायो ।