images

बेपत्ता बस खोज्न बङ्गलादेशबाट गोताखोर ल्याइने

काठमाण्डु-पहिरोले त्रिशूली नदीमा बेपत्ता दुईवटा बसको आज तेस्रो दिन पनि खोजी कार्य जारी छ । शुक्रबार र शनिबार दिनभर गरिएको खोजी कार्यबाट बस नभेटिएपछि आजदेखि ठूलो चुम्बकको प्रयोग गरिदैछ ।

अन्य प्रयासबाट खोजी कार्यबाट पत्ता नलागेपछि चुम्बकको प्रयोग गरिने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

बस खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपालका ९० जनाको सुरक्षा फौज परिचालन गरिएको छ ।

घटना भएको तीन दिनसम्म पहिरोले बस खसेको ठाउँ वरपर बाँसका भाटा, एन्कर हुक, गोताखोर, ड्रोन, वाटर ड्रोन, बाइनाकुलर टेलिस्कोपको सहायताले खोजी गरे पनि बस नभेटिएपछि आजदेखि ठुलो चुम्बकको सहायताले खोजी गर्न लागिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

नेपालमा उपलब्ध सबै उपाय लगाएर खोजी गर्दा पनि बस र वेपत्ता यात्रुु नभेटिएपछि बङ्गलादेशबाट गोताखोर ल्याउने प्रयास भइरहेको उनले बताए ।

आइतबार नारायणी नदी तटीय क्षेत्रमा र्‍याफ्ट बोट तथा पैदल माध्यमबाट खोजतलास गर्ने, भरतपुर महानगरपालिको सहयोग र समन्वयमा एयर ड्रोनको प्रयोग गरेर घटनास्थलदेखि गोलाघाटसम्म खोजी गरिने छ ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११ जना गोताखोरसहित ४५ जनाको टोलीले सोनार क्यामरा प्रयोग गरी घटनास्थलदेखि नारायणी नदीसम्म खोजी कार्यलाई निरन्तरता दिएको छ । त्यस्तै अर्को सर्च टोलीले यसअघि प्रयोग भएका विभिन्न डिभाइसहरूको प्रयोग गरी घटनास्थलदेखि १ किलोमिटर तल अर्थात् भरतपुर महानगरपालिका–१६ स्थित देवघाटदेखि ज्ञानेश्वर सामुदायिक वनसम्म खोजी कार्य गर्नेछ ।

त्यसैगरी नम्बर १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित ४५ जनाको सुरक्षा फौज घटनास्थलदेखि ४० किलोमिटर तल गोलाघाटसम्म र्याफ्टिङ बोट र नदी किनारामा पैदल गस्ती गर्दै खोजी कार्यको लागि परिचालन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

शुक्रबार बिहान वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस मुग्लिन नारायणगढ सडक खण्डमा माथिबाट खसेको पहिरोले बगाउँदा त्रिशूलीमा खसेर बेपत्ता भएको थियो ।

वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बसमा सात भारतीय नागरिकसहित २४ जना र काठमाडौँबाट रौतहट जाँदै गरेको बसमा २७ जना यात्रु सवार रहेको टिकट काउन्टरको विवरणबाट देखिन्छ । तर बिच बाटोबाट थप यात्रु पनि चढेको अनुमान गरिएको छ ।

यी बस पहिरोले बगाउने क्रममा तीन जना यात्रु भागेर बाँच्न सफल भएका थिए भने अन्य यात्रु नदीमा बेपत्ता भएका छन् । अहिलेसम्म तीन यात्रुको शव भेटिएको छ ।

बेपत्तामध्ये शनिबार बिहान भरतपुर महानगरपालिका– २८ गोलाघाटमा नारायणी नदीमा भेटिएको शव काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बसका यात्रु भारतीय नागरिक ऋषि पाल साह रहेको प्रहरीले जानकारी दिएको छ यस्तै, पहिचान खुल्नेमा सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी, २२ वर्षीय विकास परियार र भारतको बिहार सीतामणी बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषि पल साह छन् ।