काठमाडौँ, ३० असार- नेपाली शिक्षा परिषद्ले यस वर्षको आदिकवि भानुभक्त पुरस्कार स्वामी ज्ञानानन्द सरस्वतीलाई प्रदान गरेको छ ।
राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २११औँ जयन्तीका अवसरमा परिषद्द्वारा आयोजित कार्यक्रममा प्राध्यापक शिवगोपाल रिसालले उक्त पुरस्कार प्रदान गर्नुभयो । पुरस्कारको राशि रु एक लाख २५ हजार रहेको छ । परिषद्ले विसं २०५२ देखि नेपाली साहित्यका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तित्वलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।
यसअघि शनिबार बिहान परिषद्का तर्फबाट दरबार हाइस्कुल अगाडि रहेको आदिकवि भानुभक्त आचार्यको प्रतिमामा माल्यार्पणगरी नेपाली भाषा र साहित्यका क्षेत्रमा उहाँले पुर्याउनुभएको योगदानका बारेमा स्मरण गरिएको परिषद्का अध्यक्ष रमा शर्माले जानकारी दिनुभयो ।