images
images

सिमलताल पहिरो- त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजी गर्न भारत र बंगलादेशसँग सरकारले माग्यो सहयोग

काठमाडौं – सिमलताल पहिरोमा परेर त्रिशूली नदीमा चार दिनदेखि हराइरहेका दुई वटा बस र सवार यात्रुहरुको खोजीका लागि सरकारले भारत र बंगलादेशसँग पनि सहयोग मागेको छ ।

आइतबार गृहसचिव एकनारायण अर्यालसहित सिमलताल क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएपछि गृह मन्त्रालयका अधिकारीहरुले भारत र बंगलादेशका अधिकारीहरुसँग सम्पर्क गरी सहयोग मागेको गृह मन्त्रालय अन्तर्गतको द्वन्द्व तथा विपद व्यवस्थापन महाशाखा प्रमुख डा. भीष्मकुमार भूसालले बताए ।

नेपालमा उपलब्ध सबै खालका प्रविधि र जनशक्ति प्रयोग गरेर खोजी गरिरहेको उल्लेख गर्दै खोजी कार्यमा सहयोग गर्न भारत र बंगलादेशलाई भने भनेको बताए ।

नारायणगढ(मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा गत शुक्रबार बिहान करिब साढे ३ बजे खसेको पहिरोले दुई वटा बसलाई सोहोरेर त्रिशूली नदीमा खसालेको थियो ।

सोही दिन बिहानदेखि पहिरोमा परेका बस र बसमा सवार करिब ६५ जना यात्रुहरुको खोजी कार्य जारी राखिएको छ । हालसम्म नौ जनाको मात्र शव फेला परेको छ ।

खोज तथा उद्धार कार्यमा सशस्त्र प्रहरीको गोताखोरसहित करिब पाँच सय जनाको टोली परिचालन गरिएको छ ।