नयाँ नेतृत्व र १५ बुँदे घोषणापत्र जारी गर्दै प्रगतिशील चिकित्सक संघको राष्ट्रिय सम्मेलन सम्पन्न

चितवन, २ असार । नेपाल प्रगतिशील चिकित्सक संघको तेस्रो राष्ट्रिय सम्मेलन नयाँ नेतृत्व र १५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । चितवनमा आज सम्पन्न सम्मेलनले डा.मधुर बस्नेतको अध्यक्षता ३५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।

समितिको बरिष्ठ उपाध्यक्षमा डा.कुम्भराज जोशी, उपाध्यक्षहरुमा बागमतीबाट डा. अमृत भुषाल, गण्डकीबाट डा.दिनेशकुमार विक, लुम्बिनीबाट डा.राजन पाण्डे, कर्णालीबाट डा. राजविर सुनार, सुदुपश्चिमबाट डा.मोहनाथ योगी, मधेशबाट डा.नौसाद हक हुनुहुन्छ ।

यसैगरी महासचिवमा डा.मधु न्यौपाने, उपमहासचिवमा डा.भागवत भट्टराई र डा. चेतन बस्नेत, सचिवमा डा.जनकबहादुर थापा र कोषाध्यक्षमा डा. सकुन्तलाकुमार गुप्ता रहनु भएको छ । सम्मेलनले डा.बुद्धिबहादुर थापाको अध्यक्षतामा १३ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ ।

सम्मेलनको नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले उद्घाटन गर्नुभएको हो । सम्मेलनलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा स्वास्थ्य विभागका ईन्चार्ज, कल्पना धमला, माओवादी केन्द्रका केन्द्रीय सदस्य ईश्वरि भट्टराई, भरतपुर महानगर प्रमुख रेनु दाहाल, माओवादी केन्द्रका केन्द्रीय सदस्य घनश्याम दाहाल, कञ्चन खनाल लगायतकाले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा संघका अध्यक्ष डा.कृष्णसागर शर्माको अध्यक्षतामा सम्पन्न भयो ।

सम्मेलनले १५ बुँदे घोषणापत्र जारी गरेको छ । घोषणापत्रमा समाजवाद केन्द्रीत राज्यको स्वास्थ्य नीति हुनुपर्ने र सोही अनुरूप कार्यान्वयन गरिनुपर्ने माग गरेको छ । घोषणापत्रमा स्वास्थ्यमा शून्य भ्रष्टाचार सुनिश्चित गरिनु पर्ने, संविधानले प्रत्याभूत गरेको आधारभूत र आकस्मिक स्वास्थ्य निःशुल्क हुने कुरा व्यवहारमा सुनिश्चित गरिनु पर्ने, सोको निम्ति सोही अनुसार बजेट, साधनस्रोत र जनशक्तिको व्यवस्था गरिनुपर्ने माग गरिएको छ ।

घोषणापत्रमा भनिएको छ “स्वास्थ्य बीमालाई सामाजिक सुरक्षाको प्रतिबिम्बको रुपमा ७७ जिल्लामै पुनर्संरचना सहित बिस्तार गरिनु पर्छ । ‘जनतासँग अस्पताल’ अबधारणा अन्तर्गत प्रबद्र्धनात्मक स्वास्थ्यलाई जोड दिँदै जनताको घर दैलोमा नै स्वास्थ्य सेवा उपलब्ध हुने गरी व्यवस्था गरिनु पर्छ ।”

मेडिकल शिक्षामा आत्मनिर्भर हुने गरी भूगोल केन्द्रीत सेवा दिने संयन्त्र बनाइनु पर्ने भन्दै घोषणापत्रमा स्वास्थ्यमा विदेश पलायन भैरहेको जनशक्तिको व्यापक पलायनलाई रोक्न तत्काल नीतिगत रुपमा विशेष व्यवस्था गरी लागू गर्न माग गरिएको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको निम्ति सामाजिक सुरक्षाको प्रत्याभूति गरिनुपर्ने सम्मेलनले माग गरेको छ ।

स्वास्थ्य क्षेत्रको जारी ओएनएम वैज्ञानिक ढंगले तत्काल पूरा गरी लोकसेवाबाट चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको दरबन्दी तत्काल बढाउनु पर्ने, प्रस्तावित छाता ऐनको सन्दर्भमा सरोकारवालाहरुसँग व्यापक छलफल गरी वैज्ञानिक ढङ्गले स्वरुप निर्धारण गर्नुपर्ने, बालबालिका, महिला र ज्येष्ठ नागरिक केन्द्रित विशेष प्राथमिकता आधारित स्वास्थ्यको पहुँच हुनुपर्ने घोषणापत्रमा उल्लेख छ ।

यसैगरी स्वास्थ्य संस्था तथा चिकित्सक र स्वास्थ्यकर्मीमा बढ्दै गएको आक्रमण रोक्न तत्काल सुरक्षा ऐनको प्रभावकारी लागू गरिनु पर्ने, स्वास्थ्य सहकारी अवधारणाको बिस्तार गरिनुपर्ने, सरकारी र निजी स्वास्थ्य संस्थाहरुको प्रभावकारी नियमन, अनुगमन, प्रोत्साहन, सुदृढीकरण र आवश्यकताको आधारमा साझेदारी गरिनु पर्ने माग घोषणापत्रमा उल्लेख गरिएको छ ।

चिकित्सकहरुको सरकारी सेवामा भएको तहगत त्रुटी सच्चाउन माग गर्दै घोषापत्रमा भनिएको छ “जनकेन्द्रीत समाजवादी स्वास्थ्य नीतिको पैरवी र कार्यान्वयन गर्न रिड एण्ड एक्सपर्ट संगठनको रुपमा यस प्रगतिशील चिकित्सक संघ सम्पूर्ण रूपले परिचालित हुने र सोसँगै संगठन विस्तारको कार्यक्रम अगाडी बढाईने छ ।”